प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी घोषणापत्रमा सबै प्रमुख दलले आफ्नो वा आफू सम्मिलित गठबन्धनले चुनावमा बहुमत ल्याए नेपालको समृद्धिका लागि मरिमेट्ने बाचा गरेका छन् । यो आफैंमा सकारात्मक छ ।
यसले अब नेपाल राजनीतिक आन्दोलनको चरण मूलरुपमा पूरा गरेर आर्थिक समृद्धिकरणको चरणमा प्रवेश गरेको छनक दिन्छ ।
तर, दलका घोषणापत्रको मिहीन अध्ययन गर्दा के आभास हुन्छ भने नेपाललाई समृद्ध कसरी बनाउन सकिन्छ भन्नेमा उनीहरुसित प्रस्ट सोच छैन । के गर्नुपर्छ भन्नेमा दलहरुबीच एकप्रकारको अघोषित सम्मति बनेको छ, तर कसरी गर्ने भन्ने भन्नेमा उनीहरु कुहिराको कागजस्तै रुमल्लिएको प्रतीत हुन्छ ।
वामपन्थी लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले उपरोक्त समस्यालाई निकै सटिक ढंगले एक ट्विटमार्फत् औंल्याएका छन् ।
उनको भनाइ छ– ‘योजना र व्यवस्थापन प्रबन्ध, पूँजी र प्रविधि, दक्षता र निर्माण सामग्रीको लेसमात्र खाकाविनाका जसका जति ठूला विकासे वाचा छन्, त्यो त्यति नै ठूलो राजनीतिक ठग हो ।’
हाम्रोजस्तो पछौटेपनले ग्रसित मुलुकको समृद्धिका लागि मूलतः तीन आधारहरुका आवश्यकता पर्छ– पुँजी, प्रविधि र ज्ञान । तर, समृद्धिका लागि यी तीन चीज कसरी जुटाउने भन्नेमा दलहरुको दृष्टिकोण प्रस्ट छैन ।
देशभित्र र बाहिरबाट कसरी पुँजी जुटाउने भन्नेमा उनीहरुको खाका प्रस्ट छैन । अझ खासगरी वापन्थी दलहरुको हकमा उनीहरुमा रहेको उत्तरको छिमेकी बाहेकका ठूला शक्तिराष्ट्र विरोधी ‘स्कुल’ र चिन्तनको पृष्ठभूमिमा उनीहरुले कसरी विदेशी पुँजी भित्र्याउने हुन्, त्यो उनीहरुले खुलाउन बाँकी नै छ ।