तस्बिर स्रोत,Courtesy: Sotheby's
गौतम बुद्धका पार्थिव अवशेषसँग सम्बन्धित रत्नहरूको आगामी बुधवार हङ्कङस्थित 'सदबीज' लिलामीघरमा लिलाम बढाबढ गरेर बिक्री हुन लागेको छ। ती रत्नहरूलाई आधुनिक कालमा फेला परेका सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक वस्तु मानिएको छ।
उत्तर भारतस्थित एउटा स्तूपबाट उत्खनन गरेर निकालिएका भनिएका ती वस्तुहरू झन्डै एक शताब्दीदेखि एउटा ब्रिटिश सङ्कलकको गुप्त स्वामित्वमा थिए।
अहिले ती सङ्कलकले बेच्न खोजेपछि ती वस्तुप्रति अन्य पुरातात्त्विक वस्तु सङ्कलकहरूको रुचि पनि बढेको देखिएको छ भने लिलामीको प्रसङ्गले केही असहजता पनि उत्पन्न गराएको छ।
लिलामीमाथि प्रश्न
नेपालमा अवस्थित बुद्धको जन्मस्थल लुम्बिनीनजिकै सीमापारि भारतको उत्तर प्रदेशमा रहेको स्तूपको इँटाले बनेको संरचनाभित्र झन्डै १,८०० वटा रत्न र सुनले बनेका बुट्टेदार पाता फेला परेका थिए। ती रत्नमा मोती, माणिक, पुष्पराज र नीलम छन्।
ती रत्नहरू बुद्धका अस्थिधातु भनेर लेखिएको एउटा पात्रसँगै थिए। ती वस्तु फेला परेको प्रसङ्गले संसारभरि पुरातत्त्वविद्हरूमाझ निकै चर्चा पाएको थियो। लिलामघर सदबीज एशियाका अध्यक्ष तथा उक्त संस्थाका एशियाली कलाका प्रमुख निकोलस चाउ ती वस्तु "अहिलेसम्म फेला परेका निकै अद्भुत पुरातात्त्विक सामग्रीमध्ये" पर्ने ठान्छन्।
ती वस्तुहरू अहिले लिलामीको मुखमा पुगेपछि विज्ञहरूले बीबीसीलाई एउटा गम्भीर प्रश्न उठेको बताएका छन् - के प्राचीन भारतवर्षको धार्मिक महत्त्वसँग सम्बन्धित ती वस्तुको बेचबिखनलाई उचित मान्न सकिन्छ?

तस्बिर स्रोत,Courtesy Peppé family
सन् १८९८ मा विलिअम क्ल्याक्स्टन पेपे नाम गरेका एक ब्रिटिश अधिकारीले पिपरहवानजिकैको स्तूपमा उत्खनन गरेका थिए। उक्त स्थान गौतम बुद्धको जन्म भएको स्थान लुम्बिनीबाट दक्षिणपट्टि छ। ती वस्तुहरू झन्डै २,००० वर्षअघि विधिपूर्वक स्तूपमा राखिएको सङ्केत अस्थिधातु भएको पात्रमा लेखिएको देखिन्छ।
त्यतिबेलासम्म जस्ताको तस्तै अवस्थामा रहेका ती वस्तुहरू सिद्धार्थ गौतम बुद्धको शाक्यवंश र बौद्धमार्गीहरूसँग सम्बन्धित भएको कुरामा इतिहासकारहरू सहमत छन्। तर बौद्धमार्गीहरूले बुद्धको अस्थिधातु भन्ने गरेका हड्डीका टुक्राहरू भने थाईल्यान्ड, श्रीलङ्का र म्यान्मारलाई वितरण गरियो। ती देशमा तिनलाई पवित्र मानेर पूजा गर्ने गरिन्छन्।
"के बुद्धसँग सम्बन्धित पुरातात्त्विक वस्तुहरूलाई सामान्य कलाकृतिजस्तो ठानेर बेच्न मिल्छ?" दिल्लीस्थित इतिहासकार नमन आहुजा प्रश्न गर्छन्। "ती वस्तु सामान्य कलाकृति नभएकाले विक्रेताले कसरी लिलाम गर्ने नैतिक अधिकार पाउँछ?"
"विक्रेतालाई अङ्ग्रेजीमा 'कस्टोडिअन' अर्थात संरक्षक भनेर भन्ने गरिन्छ तर म प्रश्न गर्न चाहन्छु- कुन अर्थमा संरक्षक? कस्को प्रतिनिधित्व गरेर बनेको संरक्षक? आफूलाई संरक्षक भन्नेलाई ती पुरातात्विक वस्तु बेच्न अनुमति प्राप्त हुन्छ?"
विलिअम पेपेका पनाति क्रिस पेपेले बीबीसीसँग कुरा गर्दै बताएअनुसार यी पुरावशेषहरू दान गर्नेबारेमा पनि उनको परिवारले विचार गरेको थियो तर त्यसो गर्नका लागि उपलब्ध विकल्पहरू सबै समस्याग्रस्त थिए। तिनको दाँजोमा लिलामी गरेर बेच्नु नै "यी धार्मिक महत्त्वका अवशेषहरू बौद्धमार्गीहरूको हातमा पुर्याउने सबैभन्दा उत्तम र सबैभन्दा पारदर्शी उपाय रहेको हामीले पायौँ।"
लिलामघर सदबीजका अन्तर्राष्ट्रिय विज्ञ र न्यूयोर्कमा अवस्थित हिमालयन आर्टका बिक्री विभाग प्रमुख जुलिअन किङ उक्त लिलामघरले ती रत्नहरूको मिहिन जाँच गरेको थियो।
"सदबीजमा बिक्रीका लागि प्राप्त हुने सबै महत्त्वपूर्ण र सङ्ग्रहणीय वस्तुहरूका हकमा जस्तै यसमा पनि हामीले सबै आवश्यक नियमहरू पालन गरेका छौँ। त्यसमा यी रत्नहरूको प्रामाणिकता र स्वामित्वको इतिहास पनि पर्दछन्। साथै कानुनी र कलात्मक वस्तु तथा खजानाहरूका हकमा कायम रहेका नियमहरू र हाम्रा आफ्नै नीतिहरूको पालना गरेर हामीले जाँचपड्ताल गरेका छौँ," किङले बताए।
थप प्रश्नहरू
दक्षिण एशियाली कलाका विज्ञ रहेका ब्रिटेनको यूनिर्भसिटी अफ लन्डनको 'सोआस' निकायसँग सम्बद्ध एश्ली थम्प्सन र क्युरेटर कोनन चेओङ दुवैसँग भने थप प्रश्नहरू छन्। एउटा संयुक्त वक्तव्यमा तिनीहरूले बीबीसीसँग भने, "यी पुरावशेषको बिक्रीले उठाएका अन्य नैतिक प्रश्नहरू यस्ता छन्- के मानव अवशेषहरू किनबेच गर्न हुन्छ? बेचिन लागेका वस्तु मानव अवशेष हुन् वा होइनन् भनेर निर्णय कसले गर्ने हो? संसारभरिका का बौद्धमार्गीहरूका लागि बिक्रीमा राखिएका यी रत्नहरू हड्डी र खरानीहरूको अभिन्न भाग नै हुन्।"
प्राचीन अवशेषहरूको बिक्रीको विषयले बौद्ध नेताहरूमाझ पनि चिन्ता उब्जाइदिएको छ।
बुद्धको शिक्षाअनुसार कसैले पनि अनुमतिबिना अरूको सामान लिनुहुँदैन, "लन्डनस्थित ब्रिटिश महाबोधी सोसाइटीका अमाल अबेयवर्धनले बीबीसीलाई भने। "ऐतिहासिक अभिलेखहरूका अनुसार शाक्यमुनि वंशलाई यी प्राचीन अवशेषहरूको संरक्षण गर्ने भूमिका दिइएको थियो किनकि बुद्ध यही समुदायका व्यक्ति थिए। तिनीहरूको चाहना यी अवशेषहरूलाई रत्नहरूका साथ नै राखियून् भन्ने रहेको थियो। त्यसो हुन सकेमा यी सबैलाई अनन्तकालसम्म श्रद्धा व्यक्त गर्न सकिन्छ भन्ने उनीहरूको विश्वास थियो।"
क्रिस पेपेले लेखेअनुसार ती रत्नहरू उनका जिजुबुवाबाट काकाको छोरा हुँदै सन् २०१३ मा उनी र उनका अन्य दुई दाजुभाइको स्वामित्वमा प्राप्त भएको हो। त्यसपछि नै उनले ती रत्नहरू उनको जिजुबुवाको हातमा कसरी पर्न गयो भनेर अनुसन्धान गर्न थालेका थिए।
अमेरिकाको लस एन्जलिसमा टेलिभिजन निर्देशक र फिल्म सम्पादकका रूपमा कार्यरत उनका अनुसार उनले सन् १८९८ मा प्रकाशित समाचारपत्रका विवरणहरू फेला पारेका थिए, रोएटर्सदेखि न्यूयोर्क ट्रिब्यूनसम्मका । तिनमा बुद्धको अस्थिधातुका अवशेषहरू फेला परेको घोषणा गरिएका थिए।
"मेरा लागि ब्रिटेनले भारतलाई उपनिवेश बनाएको कुरा केही सांस्कृतिक लज्जाको विषय हो तर भारतवर्षमा पुरातात्विक महत्त्वका खजानाहरू खोजेर इङ्ग्ल्यान्ड ल्याउनेहरूमा त्यस्ता मानिसहरू पनि थिए जो वास्तवमै आफ्नो ज्ञान बढाउने उद्देश्यमा केन्द्रित थिए," क्रिस पेपे लेख्छन्।
पेपेका पनातिको भनाइ

तस्बिर स्रोत,Icon Films
आफ्नो अध्ययनका क्रममा यसअघि आफूले "उहिलेको जमानाका पूर्वाग्रही भिक्टोरिअन" भनी बेवास्ता गरेका आफ्ना पुर्खाहरूबारे धेरै थाहा पाएको उनको दाबी छ।
"विली पेपेकी प्रथम पत्नीले 'हनिमून'का लागि भारतआसपास घुम्ने इच्छा गरेको अनि यो देश र संस्कृति मन पराएको मैले थाहा पाएँ। तर दुःखको कुरा, उनी यकिन नभएको रोगका कारण बितिन्। अनि मैलै भारतीय महिलाहरूका लागि लागु गरिएको भूमिसम्बन्धी कानुनप्रति मेरी हजुरआमा आक्रोशित रहेको पनि थाहा पाएँ।"
"सन् १८९७ को भोकमरीबाट पीडित भएका आफ्नो जमिन भाडामा लिने किसानहरूलाई काम दिनका लागि उनले उक्त स्तूपको उत्खनन गरेको पनि थाहा पाएँ।"

तस्बिर स्रोत,courtesy: Sotheby's
आफ्ना जिजुबुवाले बनाएका "ढिस्का र घिर्नीका प्राविधिक चित्रहरूले उनी पनि प्रशिक्षित इन्जिनिअर रहेको जस्तो देखिएको" उनले लेखेका छन्।
विलिअम पेपेले बहुमूल्य रत्न तथा पुरातात्त्विक वस्तुहरू औपनिवेशिक भारतीय सरकारलाई बुझाए। हड्डीको अवशेष तत्कालिन सायमका बौद्ध राजा राम पञ्चमलाई दिइयो। अन्य अधिकांश पुरातात्त्विक सामग्री भने कलकत्तास्थित भारतीय सङ्ग्रहालयमा पठाइयो।
थोरै "नक्कल गरिएका सामग्री" मात्र पेपेको परिवारलाई राख्न दिइयो। (सदबिजको विवरणअनुसार पेपेलाई उनले पत्ता लगाएकामध्ये २० प्रतिशत जति मात्र सामग्री राख्न दिइएको थियो।)
स्रोतहरूले बीबीसीलाई बताएअनुसार लिलाम केन्द्रले नक्कली सामग्रीलाई पनि सक्कली नै मान्छ र दान दिइएकामा थप भएको मान्छ।
विगत छ वर्षमा यी रत्नहरू मुख्य प्रदर्शनीहरूमा देखाइएका छन्। त्यसमध्ये एक सन् २०२३ को द मेट थियो। पेपेको परिवारले पनि "आफ्नो अनुसन्धानबारे बताउने" भन्दै एक वेबसाइट सार्वजनिक गरेको छ।
सरकारी भूमिकाको खोजी
केही विद्वान्हरूले गौतम बुद्धका अवशेषलाई बजारमा बेचिने सामग्रीका रूपमा व्यवहार गरिन नहुने तर्क गरेका छन्।
"सदबिजबाट लिलाम भएपछि यी अतिपवित्र सामग्री बिक्रीका माल बन्छन्। यो स्तूपबाट तिनलाई निकालेर 'रत्न' र 'युरोपेलीका रुचिका विषय' भन्ने औपनिवेशिक हिंसाको निरन्तरता हो," थम्प्सन र चेङले भनेका छन्।
आफूले भ्रमण गरेका सबै गुम्बाहरूमा "कोही बौद्धमार्गीहरूले पनि यिनलाई सांसारिक अवशेष नमान्ने" गरेको आफूले पाएको क्रिस पेपेले बीबीसीलाई बताए।
केही पाश्चात्य विश्वविद्यालयहरूले सिर्जना गरेको प्राज्ञिक धारणालाई यो खोजबारे थाहा भएका बौद्धमार्गीहरूले नमान्ने उनको दाबी छ।
दान दिइएका पुरातात्त्विक सामग्रीलाई आफ्नो परिवारले "नजिकबाट हेर्दा सबैमा विभिन्नखाले समस्या देखिएको" उनले बताए।
"यी सबैलाई बौद्धमार्गीहरूमा स्थानान्तरण गर्ने सबैभन्दा न्यायोचित र पारदर्शी बाटो लिलाम नै भएजस्तो देखिन्छ। सदबिजले त्यो पूरा गर्ने हामीलाई विश्वास छ।"
तत्कालीन ब्रिटिश ईस्ट इन्डिया कम्पनीले नियन्त्रणमा लिएको र हाल 'क्राउन जुअल्स'को अंश रहेको कोहिनूरलाई धेरै भारतीयहरू जबर्जस्ती कब्जामा लिइएको भएको मान्छन्। के अब बुद्धका आभूषण पनि त्यही अवस्थामा पुग्दै छन्?
"मलाई लाग्छ तिनलाई पुरानै ठाउँमा फर्काउनु विरलै आवश्यक पर्ला," आहुजा भन्छन्, "यद्यपि मौलिक र कुनै ठाउँको सांस्कृतिक इतिहास परिभाषित गर्ने दुर्लभ तथा पवित्र वस्तुहरूमा सरकारको विशेष ध्यान जानुपर्छ।"
Article information
- Author,सौतिक बिस्वास
- Role,भारत संवाददाता