कोरोना संक्रमणका कारण विराटनगर लगायतका क्षेत्रमा गरेको निषेधाज्ञा फेरि थप गरेको छ । गत भाद्र ५ गतेदेखि जारी गरेको निषेधाज्ञा फेरि ७ दिनको समय थप गरेर भाद्र १७ सम्म लम्बाइएको छ ।
निषेधाज्ञालाई केही खुकुलो बनाएर लम्बाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारीले भने निषेधाज्ञामा बजारलाई १२ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ । त्यसपछि सबै बजार र पसल बन्द हुनेछ । बिहानको अबधिमा पनि गुदीसहितका तरकारी बजार, होटल, सैलुन, ब्युटिपार्लरजस्ता व्यवसाय भने सञ्चालन गर्न पाइनेछैन ।
बजार खुल्ला गरिएपनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन । मोटरसाईकल र साइकललाई पनि चल्न नदिनेगरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
समुदायस्तरमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको अवस्थामा निषेधाज्ञाको समय लम्बाएको हो । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो। यसअघि विराटनगरसहित आसपासका ४ स्थानीय तहमा मात्र निषेधाज्ञा लागु गरेको प्रशासनले अबको साता भने जिल्लाभर लागु गर्नेछ ।
निषेधाज्ञाको समयमा पनि उद्योग व्यवसाय सञ्चालन गर्न पाउनुपर्नेमा माग उद्योगी व्यवसायीले गर्दै आएका थिए । त्यसैकारण दैनिक १२ बजेसम्म बजार खुल्ला राख्ने निर्णय भएको हो ।