२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।
प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।
कुलमान दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दोहोर्याउने गरी प्रस्ताव पुगेको छैन ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ ।
सरकारले कुलमानलाई नदोहोर्याउने इच्छा गरेपनि जनस्तरबाट दोहोर्याउन दबाव छ । अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् ।