
विराटनगर : ज्येष्ठ सदस्यको अध्यक्षतामा सुरु भएको प्रदेश १ को प्रदेशसभामा सभामुख र उपसभामुख चयनको प्रक्रियाले प्रवेश पाउने भएको छ । आइतबार उनै ज्येष्ठ सदस्य तथा प्रदेशसभाका अध्यक्ष गयानन्द मण्डल गनगाईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
बैठकले सभामुखको चयन पुस २८ गते र उपसभामुख ३० गते चयन गर्ने गरी प्रदेशसभा सचिवालयले प्रक्रिया अघि बढाउने सहमति गरेको हो । प्रदेशसभाको कार्यव्यवस्था समिति गठन नभएका कारण प्रदेशस सचिवालयले आयोजना गरेको बैठकले सभामा प्रतिनिधित्व गर्ने दलहरुका नेताहरु बसेर सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढाएका हुन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेतासहित बसेको बैठकले सभामुख र उपसभामुख चयनको कार्यतालिका तयार गरी मंगलबारको प्रदेश सभाको बैठकमा टेबुल गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए ।
सर्वदलीय बैठकले सोमबारका लागि तोकिएको प्रदेश सभाको बैठक पुस २६ गते मंगलबार बिहान ११ बजेका लागि सार्ने पनि निर्णय गरेको छ । प्रदेशसभाको बैठक र प्रदेश सरकारको गठनको प्रक्रिया एकै समयमा हुनसक्ने अवस्था आएको भन्दै बैठक सारिएको हो । प्रदेश सभा सचिवालयले सोही निर्णयअनुसार प्रदेश सभाको बैठक सारेको सूचना नै प्रकासित गरेको छ ।
प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठक मिति २०७९ पुस २५ गते सोमबार दिनको १ बजे बस्ने गरी तोकिएकोमा उक्त बैठक विशेष कारणले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम २०७९ पुस २६ गते मंगलबार दिनको ११ बजे बस्ने जानकारी गराइएको सभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
सर्वदलीय बैठकले प्रदेश सभाका अध्यक्ष कुनै कारणले अनुपस्थित हुनसक्ने अवस्था आएमा बैठकको प्रक्रिया अघि बढाउन सबै दलबाट एक–एक जनालाई बैठक अध्यक्षताका लागि तोक्ने गरी सहमति भएको छ ।