Pin It
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको आत्मकथा ‘सत्यको जगमा उभिएर’ सार्वजनिक
 

काठमाडौं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको आत्मकथा ‘द ट्रुथ वी होल्ड’ को नेपाली संस्करण सार्वजनिक भएको छ। विप्लव प्रतीकले अनुवाद गरेको नेपाली संस्करण ‘सत्यको जगमा उभिएर’ शनिबार काठमाडौंको होटल प्यागोडामा सार्वजनिक गरिएको हो।

किताबमा ह्यारिसले आफ्नो जीवनकालमा भोगेका कानुनी लडाईंका विषय, सिनेटको यात्रा र अमेरिकी उपराष्ट्रपतिसम्मको यात्राबारे वर्णन गरिएको छ। ह्यारिस आफैँले लेखेको यो किताब पेन्गुइन बुक्सले सन् २०१९ जनवरीमा प्रकाशन गरेको थियो।

न्यूयोर्क टाइम्स बेस्ट सेलर किताब अनुवाद ढिला हुँदा बजारमा आइपुग्न अझै ढिला भएको प्रकाशन संस्था वि रिडले जनाएको छ। अनुवादक प्रतीकले ह्यारिसको संघर्ष र उनको आमाले दिएको योगदान अतुलनीय देखिएको बताए। एक आप्रवासीले अमेरिकाजस्तो ठाउँमा उपराष्ट्रपति बन्न गरेको संघर्षलाई कम आँक्न नमिल्ने उनको भनाइ थियो।

किताबको मूल्य ८५५ रुपैयाँ तोकेको छ।