
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्। उनले शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्र संघको ७८औं महासभा र चीन भ्रमणबारे जानकारी गराएका हुन्।
उनी राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाँदैछन्। अमेरिकाबाटै असोज ५ मा चीन भ्रमणमा जाने तालिका छ। प्रधानमन्त्री दाहालले राष्ट्रसंघको महासभालाई असोज ४ गते सम्बोधन गर्ने छन्। उनले सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनीतिक उपलब्धबारे जानकारी गराउने बताए।
यस्तै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपालले गरिरहेका प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने र अतिकम विकसित मुलुकबाट दीगो र स्थायीरुपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउने पनि उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले राष्ट्रसंघको महासभामा सम्बोधनलगत्तै चीन भ्रमणको तालिका रहेकाले अमेरिकाबाटै सिधै जानुपर्ने स्थिति आइलागेको प्रष्टिकरण दिए। अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदा राम्रो कूटनीतिक सन्देश नजाने भनेर आलोचना भएपछि उनले यो प्रष्टिकरण दिएका हुन्।
उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा असोज ६ गते भेटवार्ता हुने जानकारी दिए। चिनफिङसँगको भेटवार्तापछि दाहाल त्यसै दिन १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने तालिका छ। उनले चिनियाँ समकक्षी ली खछ्याङसँग भने असोज ८ गते बेइजिङमा भेटवार्ता गर्नेछन्।
दाहालले चीनसँग कोभिडका कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापारिक नाका र परम्परागत सीमा नाका खोल्ने विषयमा छलफल गर्ने बताए। उनले पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, शिक्षा लगायत क्षेत्रमा चीनबाट प्राप्त सहयोगबारे पनि छलफल गर्ने जानकारी गराए। उनले चीन भ्रमण नेपाल र नेपाली जनताको हितमा सदुपयोग गर्न प्रयास गर्ने भन्दै भ्रमणबाट द्विपक्षीय सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे।
भ्रमणका क्रममा उनले कृषि तथा प्रविधिको क्षेत्रमा सफलता हासिल गरेको छोङछिङ एकेडेमीको अवलोकन गर्ने छन्। दाहाल तिब्बत हुँदै काठमाडौं फर्कने तालिका छ।