गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवादबीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ।
एनआरएनएको निर्वाचनमा धाँधली भएको भन्दै दुई उम्मेदवारबीच विवाद सुरू भएको थियो। त्यसैबीच बिहीबार साँझ अध्यक्ष आरके शर्मा र अर्का अध्यक्ष बद्री केसीबीच ठमेलस्थित हिमालयन जाभामा भेट भएको हो।
उनीहरूबीच करिब तीस मिनेट भेटवार्ता भएको हो। भेटको क्रममा आरके शर्माले पुन: निर्वाचनको प्रस्ताव अघि सारेका छन्।
दुवै पक्षले निर्वाचन त्रुटिपूर्ण रहेको भन्ने स्वीकार गरेकाले पुन: निर्वाचन हुनुपर्ने प्रस्ताव अघि सारेको शर्माले बताए।
'निर्वाचन त्रुटिपूर्ण छ भनेर उहाँले पनि स्वीकार गर्नुभएको छ। उहाँले विज्ञप्ति नै निकालेर प्रक्रिया स्थगित गर्नुभएको हो,' उनले सेतोपाटीसँग कुरा गर्दै भने, 'पुन: निर्वाचन गरेमा हामी सहमतिमा आउन सक्छौं। मैले त्यही कुरा राखेँ। उहाँले प्रक्रिया नै नपुर्याइ आफैंलाई अध्यक्ष घोषणा गरेर शपथ खानुभएको छ।'
यस्तै उनले आफूहरूको कमिटी नै वैधानिक भएको पनि दाबी गरेका छन्। एनआरएनबारे नकारात्मक छाप परेकाले पुन: निर्वाचनको प्रस्ताव अघि सारेको पनि उनले बताए।
'हाम्रो कमिटी वैधानिक छ। अध्यक्षद्वय कुल आचार्य, रवीना थापाले उहाँ (बद्री केसी) ले स्थगित गरेको बन्दसत्र पुन: सुरू गरेर हामीलाई निर्वाचित गरेको हो,' उनले भने, 'तर एनआरएनएको बाहिर नकारात्मक छाप गएकाले सहजीकरणका लागि पुन: निर्वाचनमा सहमति गरौं भन्ने मेरो कुरा हो। उहाँ सहमत भए म टिममा कुरा गर्छु।'
यद्यपि बिहीबार भएको भेटमा बद्री केसी मिल्ने पक्षमा नदेखिएको पनि उनले बताएका छन्।
'उहाँ त पेलेरै जाने रणनीतिमा हुनुहुन्छ। हिजो भेटमा मिल्ने संकेत देखाउनुभएन,' उनले भने।
बद्री केसीले भने निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउने प्रस्ताव राखेका छन्।
'हामीले महेश श्रेष्ठ, आरके शर्मालाई पत्र नै लेखेर आइटी विज्ञ पठाइदिनुस् भनेका छौं। महेश श्रेष्ठ अन्तर्राष्ट्रिय अडिट कम्पनीद्वारा निर्वाचन परिणाम छानबिन गरौं भन्दा तयार हुनुहुन्छ,' केसीले सेतोपाटीसँग भने, 'आरके शर्मा पुन: निर्वाचनको पक्षमा हुनुहुन्छ। बल उहाँहरूको कोर्टमा छ।'
उनले मतदानको निष्पक्षताबारे १५ दिनभित्र निरूपण गर्ने र मतदानमा त्रुटि देखिए पद छाड्न तयार रहेको पनि उनले बताए।
'हामी १५ दिनभित्र मतदानको निष्पक्षताबारे उठेका प्रश्नको निरूपण हुने गरी छानबिन गर्छौं। मतदानमा त्रुटि देखिए पद त्याग गर्न तयार छौं,' उनले भने, 'उहाँहरू भोटिङ कम्पनी छान्न, निर्वाचन प्रक्रिया सुरू गर्न, मतदानमा प्रतिनिधि राख्न, गणनामा प्रतिनिधि खटाउन तयार हुने, खटाउने, सबै प्रक्रियामा भाग लिएपछि परिणाम स्वीकार गर्दिनँ भन्न कसरी मिल्छ? मैले हिजो यही कुरा राखेँ।'
शर्माले भने पुन: निर्वाचनबाहेक अन्य विकल्प हुन नसक्ने र केसीले विज्ञप्ति नै निकालेर निर्वाचनको घोषणा गरे छलफल गर्ने बताएका हुन्।
कात्तिक ३ गते (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि बद्री केसीसहित कुल आचार्य र रवीना थापाले एक विज्ञप्ति जारी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए।
निर्वाचनमा जोड-घटाउ भद्रगोल र उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत शून्य बनाइएको थियो।
अध्यक्षका उम्मेदवारहरूसँग सहमति नगरी बद्री केसीले भोलिपल्टै आफूलाई विजयी घोषणा गरी शपथ लिएको आरोप छ।
सहमतिअनुसार १५ दिनभित्र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने र त्यसबारे आउने रिपोर्टका आधारमा अघि बढ्ने भनिए पनि केसीले एकाएक शपथ लिएपछि शर्मा र महेश श्रेष्ठ समूह चिढिएको थियो।
लगत्तै अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ समेतको समर्थनमा केसी इतर पक्षले महाधिवेशनको बाँकी प्रक्रिया पूरा गरेर आरके शर्मालाई अध्यक्ष चयन गरेको थियो।
केसी अवैध बाटोबाट अध्यक्ष चुनिएको र आफूहरू नै आधिकारिक रहेको शर्मा पक्षधरले बताउँदै आएको छ।
भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा सिस्टम ह्याक गरेर मतपरिणाम तलमाथि बनाइएको असन्तुष्ट पक्षको दाबी छ।