अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्ता गठबन्धन परिवर्तन गरेका छन्।
पोहोर फागुनमा एमाले लगायतका दलहरूसँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रचण्डले ठ्याक्कै वर्ष दिनमा कोल्टो फेरेका हुन्।
यही सहमति कायम रहे अबको दुई वर्षमा एमाले र रास्वपालगायत दलहरू प्रधानमन्त्री प्रचण्डको सारथी दलका रूपमा रहनेछन्।
सोमबार नेकपा एमालेका प्रमुख सचेत पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्याल (डिपी) ले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष शपथ लिएसँगै नयाँ गठबन्धनले औपचारिक रूपमा गति लिएको हो।
गठबन्धनमा जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी हुने भनिए पनि सोमबार पुनर्गठन भएको मन्त्रिपरिषदमा ती पार्टीका तर्फबाट कोही पनि सहभागी भएनन्। यद्यपि गठबन्धनको आधारपत्र तयार पार्न बसेको बैठकमा अरू तीन दलसहित जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए।
दलहरूले कार्यदल नै बनाएर अबको मन्त्रिमण्डल भागबण्डा, मन्त्रीहरूको वरीयता, प्रदेश सरकारहरू पुनर्गठनलगायत विषयमा प्याकेजमै सहमति खोज्ने भनेका छन्। गृह मन्त्रालयमा नेकपा एमाले र रास्वपाको तथा अर्थ मन्त्रालयमा माओवादी तथा एमालेको दाबी रहेको र कसले कुन मन्त्रालय पाउने भनेर टुंगिनसकेको बालुवाटार स्रोतको भनाइ छ
यद्यपि यसअघि कांग्रेसले लिएका मन्त्रालय एमालेले लिने मोटामोटी सहमति भएको नेताहरू बताउँछन्। मन्त्रालयकै भागबण्डा नमिल्दा सोमबार नै शपथ लिने भनिएका शीर्ष नेताहरूले शपथ लिएनन्। मन्त्रालयको टुंगो लागेपछिमात्रै आफूहरूले शपथ लिने नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
स्रोतका अनुसार एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने लगभग टुंगो भइसकेको छ।