कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउन लागि परेका एमाले र माओवादी केन्द्रले प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।
उनीहरूले सोमबार प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्। यी दलहरूले वैशाख २५ गतेभित्र मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने वा विश्वासको मत लिनुपर्ने विषय प्रस्तावमा उल्लेख गरेका छन्।
यिनै दुई दलका सांसदहरूको समावेदनका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशन वैशाख ६ गते बिहीबारलाई तोकिएको छ।
मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संकल्प प्रस्ताव लगेका हुन्।
एमाले र माओवादीले प्रदेश सभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्तावमा वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषदका कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने बेहोरा प्रस्तावमा उल्लेख छ।
राजीनामा वा विश्वासको मत परीक्षण नभए प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि अगाडि बढ्न उपयुक्त हुने सन्देश पनि संकल्प प्रस्तावमार्फत प्रवाह गरिएको छ
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक र समर्थकमा माओवादीका सांसद गणेश उप्रेती र एमालेका सांसद किशोरचन्द्र दुलाल छन्। उनीहरूले सरकारलाई दिएको समर्थन र विश्वासको मतसमेत प्रदेश सभाका ५२ जनाले फिर्ता लिइसकेको अवस्थामा आगामी वैशाख २५ गतेभित्र प्रदेश प्रमुखमार्फत अधिवेशन आह्वान गराई संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिन प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीलाई निर्देशन दिने उल्लेख गरेका छन्।
दुई दलको संकल्प प्रस्तावमा 'बहुमत सदस्यको विश्वास गुमाइसकेको सरकारका मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरून्जेल दीर्घकालीन असर पर्ने प्रकृतिका नीतिगत तथा कार्यक्रमिक निर्णय एवं गैरबजेटरी शीर्षकमा खर्च गर्ने कार्य नगर्न नगराउन मुख्यमन्त्री, मन्त्रीहरू, प्रमुख सचिव र प्रदेश सरकारका सचिवहरूलाई निर्देशन दिने' पनि उल्लेख छ।
यस्तै वैशाख २५ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिए, त्यसपछि प्रमुख सचिव र मन्त्रालयका सचिवहरूले मुख्यमन्त्री वा मन्त्रीहरूको कुनै पनि निर्णय वा निर्देशन कार्यान्वयन गर्न गराउन बाध्य नहुने निर्देशन प्रदेश सभाबाट दिने प्रस्ताव संकल्प प्रस्तावमा गरिएको छ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै नयाँ वैकल्पिक सरकार गठन गर्न प्रदेश सभा सक्षम रहेको प्रतिबद्धता प्रस्तावमा जनाइएको छ।