
- ब्रह्मदेव यादव, विराटनगर
सुनसरी बराहक्षेत्रको महाकुम्भ मेलाको भोजन व्यवस्थापनका लागि विराटनगरका १५ जना उद्योगी एवं समाजसेवीहरूले जनही एक लाख एघार हजार रुपैयाँ सहयोग गरेका छन् । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाको वडा नं. १ स्थित चतरामा आयोजना गरिएको १२ वर्षे महाकुम्भ मेलालाई भव्य रुपमा सम्पन्न गर्न विराटनगरका १५ जना उद्योगी एवं समाजसेवीले जनही एक लाख ११ हजार रुपैयाँका दरले सहयोग गरेको हो । मोरङ व्यापार संघका पूर्व अध्यक्ष उद्योगी एवं समाजसेवी सुरेशकुमार शर्माको संयोजकमा कुम्भ मेला आयोजक समितिले भोजन व्यवस्थापन समिति गठन गरेका छन् ।
खाना तयार भई सकेपछि भक्तजनलाई खुवाउने जिम्मेवारी भोजन व्यवस्थापन समितिलाई दिइएको छ । प्रत्येक दिन भोजनको व्यवस्थापनलाई सहयोग गर्ने दाता र उनका परिवारहरू भक्तजनलाई खाना खुवाउने कार्यमा सहभागिता जनाउने गरेका छन् । विराटनगरका वरिष्ठ समाजसेवी दिनबन्धु गोयल, लक्ष्मण तापडिया, बासुदेव गोलियान, देवेनारा समूह, किशनलाल दुगड, महेश–आनन्द जाजु, पवन सारडा, मेघराज–सुरेश कुमार शर्मा, तोदी परिवार, देवेन्द्रराज गढिया, ताराचन्द खेतान, पोकरमल राठी परिवार, आष्करण–नन्दकिशोर राठी, गोल्छा होउस र विशाल ग्रुपले महाकुम्भ मेलालाई जनही १ लाख ११ हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।
कुम्भ मेलालाई सुनसरीका नर्सिङ अग्रवाल र नानुराम–रोशनकुमार सोनीले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको भोजन व्यवस्थापन समितिका संयोजक उद्योगी एवं समाजसेवी सुरेशकुमार शर्माले बताए । २०८० चैत्र २७ गते सुरु भएको १२ वर्षे पिण्डेश्वर महाकुम्भ मेला २०८१ बैशाख २८ गते समापन हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत्र २७ गते कुम्भ मेलाको उद्घाटन गरेका थिए ।
राष्ट्रपति पौडेलले राज्यले आयोजना गर्ने कुम्भ मेलालाई विराटनगरका मारवाडी समुदायले सहयोग गरेको र मारवाडीहरूले कुम्भ मेलालाई सफल पार्न ठुलो सहयोग गरेको बताए । बैशाख २८ गते अक्षय तृतीय पर्शुराम जयन्तीको दिन कुम्भ मेलामा स्नानपछि विधिगत रुपमा समापन हुनेछ ।