जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ ।
पछिल्लो तीन घण्टामा मोरङ, सिराहाको दोधना, उदयपुरको सुन्दरपुर र झापाको केचनास्थित वर्षा मापन केन्द्रमा भारी वर्षा भएको विभागले उल्लेख गरेको छ ।
विभागले उक्त क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै ती जिल्ला भएर बग्ने नदीको तटीय क्षेत्र र डुबान भइरहने भू–भागहका बासिन्दालाई सकतर्कता अपनाउन आग्रह गरेको छ । दूधकोशी नदी रबुवाबजार बाढीमापन केन्द्र र ओखलढुङगामा जलसतह सतर्कता तह आसपास पुगेको जनाउँदै दूधकोसीको सुनकोसी दोभानसम्मको नदी तटीय क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पनि भारी वर्षा भएकाले खुदी खोलालगायतका क्षेत्र भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख गरेको छ ।
बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ । दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ । राती कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, कोशी ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ । पछिल्लो चौविस घण्टामा धरान वर्षा मापन केन्द्रमा ३५ दशमलब ६ प्रतिशत वर्षा मापन भएको छ । यस्तै, पोखरामा २९ दशमलब ५, विरेन्द्रनगरमा २९ दशमलब ४, भैरहवा र सिमरा मापन केन्द्रमा २४ दशमलब २ प्रतिशत वर्षा मापन भएको छ ।
३६ परिवार विस्थापित
निरन्तरको वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका ३६ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर महानगरपालिका-८ मा १० परिवार विस्थापित भएका छन् । प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ ।
विराटनगर महानगरपालिका-१९ सरदकार टोलमा पनि १० परिवार विस्थापित भएका छन् । वर्षाको पानीले निकास नपाउँदा उनीहरुका घर डुवानमा परेका थिए । उनीहरुलाई पनि स्थानीय शिवजी आधारभूत विद्यालयमा राखिएको छ ।
बुढीगंगा गाउँपालिका-१ शान्ति चोक र गैरीटोलका गरी १६ परिवार पनि विस्थापित भएका छन् । उनीहरु छिमेकीको घरमा सरेको प्रहरीले बताएको छ ।
केसलिया खोला बस्तीमा पसेका कारण विराटनगर महानगरपालिका-१२ बखरीबाट विस्थापित भएकाहरुको उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रभावितको विवरण आइसकेको छैन ।
वर्षाका कारण परेको पानी निकास नहुँदा विराटनगर महानगरपालिका-३ मा रहेको प्रहरी चौकी बरगाछीको भाडाको घरमा पानी पसेको छ ।
विराटनगर-८ मा वडा प्रहरी कार्यालय हाटखोलाको ब्यारेक र खाना पकाउने ठाउँमा वर्षाको पानी पसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।