बाङ्ग्लादेशमा भएका नेपाली विद्यार्थीहरूलाई दूतावाससँग समन्वय नगरी देश नछोड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।
बाङ्ग्लादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका करिब २,६०० नेपाली विद्यार्थीमध्ये करिब ४०० जना अझै बाङ्ग्लादेशमै रहेको ठानिएको छ।
नेपाली दूतावाससँगको समन्वयमा २,००० जनाभन्दा धेरै नेपाली विद्यार्थीहरू विगत केही साताभित्र स्वदेश फर्किसकेको जनाइएको छ।
ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारीले बाङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको बीबीसी न्यूज नेपालीलाई टेलिफोनमा जानकारी दिए।
“यहाँ अब ४०० हाराहारीमा नेपाली विद्यार्थीहरू हुनुहुन्छ। त्यसमध्ये अधिकांश अस्पतालहरूमा इन्टर्नशिप गरिरहनुभएको छ। उहाँहरू सबै सुरक्षित हुनुहुन्छ र नेपाल फर्किन चाहेको अवस्थामा दूतावाससँग सम्पर्क गर्न भनेका भनिएको छ,” राजदूत भण्डारीले भने।
राजधानी ढाकासहित बाङ्ग्लादेशका अधिकांश ठाउँमा आइतवार साँझदेखि अनिश्चितकालीन कर्फ्यू जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बाङ्ग्लादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ।
“आफ्नै तरिकाले नेपाल फर्किने वा बाहिर निस्किने नगर्न हामीले अनुरोध गरेका छौँ। नेपाल फर्किन चाहने जोकोहीलाई पनि दूतावासले सुरक्षित रूपमा नेपालसम्म पुग्ने प्रबन्ध मिलाउने छ,” राजदूतले भने।
दूतावासले के भन्यो
यसैबीच ढाकास्थित नेपाली दूतावासले यात्रा निर्देशिकासम्बन्धी एक विज्ञप्ति जारी गर्दै बाङ्ग्लादेशमा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन भनेको छ।
“सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध
छ,” दूतावासले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बाङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जनाएको छ।
नेपाल फर्किन चाहने विद्यार्थी तथा अन्य नेपालीहरूले राजदूतावाससँग समन्वय गरी “सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न” दूतावासले भनेको छ।
दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयको लागि दुइटा टेलिफोन नम्बर समेत सार्वजनिक गरेको छ।
दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा + ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन्। स्रोत बीबीसी न्यूज नेपाली