
कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरीले आजै काठमाण्डूस्थित रास्वपा पार्टी कार्यालयबाट उनलाई गिरफ्तार गरेको हो।
पक्राउ गर्न पार्टी कार्यालयमा पुगेका प्रहरीलाई गिरफ्तारी दिनुअघि उनले कार्यकर्ताहरूलाई सम्बोधन गरेका थिए।
'जसरी भए पनि जेलमा कोच्ने सम्झौता'

उनले भने, "जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो, 'रविलाई जसरी भए पनि जेल कोच्छौँ, तपाईँ चिन्ता नगर्नुस्' भन्ने सम्झौता उहाँहरूले गर्नुभएको सूचना मलाई छ।"
उनले राज्यले दादागिरी गरेको र त्यसको डटेर सामना गर्ने साहस कार्यकर्ताहरूलाई मिलोस् भन्ने अभिव्यक्ति दिएका थिए।
आफूले कुनै पनि किसिमको अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउन प्रतिबद्ध रहेको उनले बताए। उनले भने, "तर राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएर जुन कार्य गरेको छ, त्यसलाई नेपाली नागरिकले हेरेका छन् भन्ने मैले विश्वास लिएको छु।"
उनलाई पक्राउ गरेर प्रहरीले गाडीमा लिएर जाँदा कार्यकर्ताहरूको भीडले प्रधानमन्त्री र सरकारविरुद्ध चर्को नाराबाजी गरेको थियो।
सङ्गठित अपराधको पनि आरोप

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेलाई पक्राउ गरी पठाइदिन आजै प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाण्डू जिल्ला प्रहरी परिसरलाई पत्र पठाएका थिए।
त्यसमा ‘सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा…कास्की जिल्ला अदालतबाट २०८१/७/२ गते पक्राउ अनुमति जारी भई आएको’ उल्लेख छ।
पक्राउ गर्न गएको प्रहरीलाई उनले आफूलाई गाडीबाटै पोखरा लग्न भनेको केही समाचारहरूमा जनाइएको छ।
लामिछाने पक्राउ परेपछि बीबीसीसँग कुराकानी गरेका शर्माले अब लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गरी म्याद थप गरिने र त्यसपछि मात्र थप अनुसन्धान अघि बढ्ने बताए।
भोलि शनिवार परेकाले अब पर्सि आइतवार मात्र उनलाई अदालत लगिने छ।
अनुसन्धान ठगी र सङ्गठित अपराधमा केन्द्रित हुने पनि शर्माले जानकारी दिए।
रविको निसानामा सत्ताधारी नेता

तस्बिर स्रोत,Nepal Police
अदालतले पक्राउ अनुमति दिएको समाचारसँगै लामिछानेले सामाजिक सञ्जालमार्फत् सत्ताधारी दलका नेताहरू लक्षित हमला गर्दै आरोपको प्रतिवाद गरेका थिए।
“तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी? तपाईँ बिचौलियाको सेवा गरेबापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने?” लामिछानेले लेखेका छन्, “तपाईँ प्रमाणित भ्रष्टाचारीबाट करोडौँको जग्गा खुल्लमखुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने। तिमीहरू राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ, अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुईतिहाइको सरकार जोगाइदिन म बली चढ्नुपर्ने?”
उनले प्रधानमन्त्रीको पूरा नाम नलेखेर ‘ओलीजी’ भन्दै "भ्रष्टाचारी समाउन आफूले प्रधानमन्त्रीको प्रस्ताव लत्त्याएको तर तिनै भ्रष्टाचारीलाई जोगाउन तपाईँले त्यही प्रस्ताव रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो, वाचास्वरूप तपाईँले मेरो बलि चढाउने सम्झौता त्यसै रात गर्नुभयो। त्यो मलाई राम्रोसँग थाहा छ" भनी लेखेका छन्।
उनले आफूलाई न्यायालयप्रति आशा र जनताप्रति भरोसा रहेको बताउँदै कानुनलाई सघाउने प्रतिबद्धता जनाएका थिए।
उनले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लेखेका छन्, “प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला। तपाईँको सभापतिले कसैलाई ठगेको छैन।”

तस्बिर स्रोत,Surya Thapa/FB
समितिको प्रतिवेदनको अर्थ
सहकारी ठगी प्रकरणमा उनको नाम जोडिँदै आएको थियो। त्यससम्बन्धी अनुसन्धान गर्न गठन भएको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ।
समितिले सहकारीबाट ऋण लिन लामिछानेको कुनै भूमिका फेला नपरेको तर लामिछानेसम्बद्ध टेलिभिजनमा सहकारीबाट लिइएको ऋण लगानी भएको ठहर गरेको छ।
तर लामिछानेले कार्यकारी भूमिकामा रहेर टेलिभिजनको काममा उक्त रकम परिचालन गरेको उसको भनाइ छ।
त्यसैले सहकारी प्रकरणमा लामिछाने निर्दोष रहेको उनी र उनका समर्थकहरूले बताउँदै आएका छन्।
तर उनका आलोचकहरूले ठगीको रकमको दुरुपयोगमा लामिछानेको पनि हात रहेको भन्दै त्यसबाट उनले उन्मुक्ति पाउन नसक्ने बताउने गरेका छन्।