Pin It

 

काठमाण्डू विमानस्थल अबको पाँच महिना दैनिक १० घण्टा बन्द रहने छ

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन,काठमाण्डू विमानस्थल अबको पाँच महिना दैनिक १० घण्टा बन्द रहने छ
  • बीबीसी न्यूज नेपाली

दैनिक २१ घण्टा खुला हुने गरेको काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नोभेम्बर आठ तारिख अर्थात् शुक्रवारबाट दैनिक १४ घण्टा मात्र चल्न थालेको छ।

यस बेला सरकारले चाहेजसरी बाँकी दुई अन्तर्राष्ट्रिय विमानस्थल उपयोगमा आउन सक्ने नदेखिएको अधिकारीहरूले पुष्टि गरेका छन्।

तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखहरूले देशको मुख्य विमानस्थल सात घण्टा कम चल्दा परेका असरबारे बीबीसीसँग कुरा गर्दै आफ्ना विमानस्थलमा आठ नोभेम्बरयता हुन लागेको परिवर्तनबारे बताएका छन्।

काठमाण्डू विमानस्थलका प्रमुखले साप्ताहिक रूपमा दर्जनौँ उडान कटौती हुने गरी हिउँदे उडान तालिका स्वीकृत गर्दै शुक्रवारबाट कार्यान्वयनमा ल्याइएको जनाएका छन्।

 

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले चारवटा अन्तर्राष्ट्रिय विमान कम्पनीका उडान आफूहरूको हिउँदे उडान तालिकामा थपिएको बताए भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने कुनै अन्तर्राष्ट्रिय उडान थपिएनन्।

काठमाण्डूको नयाँ उडान तालिकामा साप्ताहिक १२३ वटा अन्तर्राष्ट्रिय उडान कटौती गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपालमा हाल २९ अन्तर्राष्ट्रिय विमान सेवाले अन्तर्राष्ट्रिय र सातवटा कम्पनीले आन्तरिक उडान गर्छन्।

अबको पाँच महिना चल्ने मर्मत तथा स्तरोन्नतिको मुख्य कामका कारण त्यस अवधिमा अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ गरेर दैनिक झन्डै एकतिहाइ उडान प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

भैरहवा विमानस्थलमा कति उडान?

केही विमान कम्पनीहरूले भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन्

तस्बिर स्रोत,Asian Development Bank

तस्बिरको क्याप्शन,केही विमान कम्पनीहरूले भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन्

गर्मी याममा एक सातामा ४१८ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका भए पनि नोभेम्बर दोस्रो सातादेखि काठमाण्डूमा साप्ताहिक उडानको सङ्ख्या २९५ मा सीमित भएको छ।

यसअघिको उडानको चापलाई घट्न नदिनका लागि कटौती गरिएका साप्ताहिक १० दर्जनभन्दा बढ्ता उडान भैरहवा र पोखराबाट हुनुपर्ने भए पनि विमान कम्पनीहरूले त्यसको लाभ उठाउन नचाहेको देखिएको छ।

शुक्रवारअगावैबाट भैरहवाबाट थाई एअर एशियाले ब्याङ्कक जोड्ने गरी साप्ताहिक दुई उडान थालेको छ।

नेपाल एअरलाइन्सले पनि शुक्रवारै नियमित रूपमा उडान थाल्दै छ। उसले सातामा एउटा उडान क्वालालम्पुरका लागि र चारवटा दुबईका लागि गर्ने छ।

जजिरा एअरले यसअघि नै समेत उडान गरेर छाडेकामा पुनः कुवेत जोड्ने गरी सातामा दुई पटक उडान गर्दैछ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी भन्छन्, "यी उडानहरू काठमाण्डूमा भएका परिवर्तनकै कारण भन्दा पनि पहिलेदेखि नै अलग्गै योजना गरेर भएका परिवर्तन हुन्।"

"काठमाण्डू रोकिएर थप यात्रुहरू लिएर वा छाडेर उड्नुपर्ने हकमा त्यहाँ एक घण्टा समय छुट्याइएको छ," तिवारी भन्छन्।

"धेरै अन्तर्राष्ट्रिय उडान हुन थाल्दाका हकमा भैरहवाबाट नेपालका अन्य आन्तरिक विमानस्थलमा उडान सुरु गर्न सक्ने सम्भावना समेत छ। तर अहिलेलाई पहिले चलिराखेको पोखरा उडानबाहेक कतै थप टुङ्गो लागिसकेको छैन।"

कतार एअरवेज र एअर अरेबियाले समेत व्यावसायिक सम्भावना र केही औपचारिक जाँच पासको तयारीमा रुचि देखाएको बताइएको छ।

पोखरमा किन उडान नहुने भयो?

पोखराबाट अहिलेसम्म कुनै विमान कम्पनीले पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेका छैन

तस्बिर स्रोत,Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन,पोखराबाट अहिलेसम्म कुनै विमान कम्पनीले पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेका छैन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने काठमाण्डू विमानस्थलमा देखिएको चापमा समेत अन्तर्राष्ट्रिय हिउँदे उडान तालिका बन्न नसकेको उक्त विमानस्थलकी महाप्रबन्धक नवीना कर्माचार्य बताउँछिन्।

उद्घाटन भएयता नै बेलाबखत त्यहाँ चार्टर्ड उडान भए तापनि अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

कर्माचार्यको भनाइ छ, "कसैले चार्टर्ड गर्न चाहँदाको अवस्थामा त्यो एकदुई साताभित्रै स्वीकृत गर्न सकिने अवस्था रहन्छ। तर नियमित अन्तर्राष्ट्रिय उडानका लागि हालसम्म हामीलाई नागरिक उड्डयन प्राधिकरणबाट कुनै जानकारी छैन।"

काठमाण्डूबाहेक पोखराबाट सबैभन्दा धेरै गन्तव्यमा आन्तरिक उडान हुने गरेको छ। त्यहाँबाट भरतपुर, भैरहवा र नेपालगन्जमा नियमित उडान हुने गर्छ।

"ती स्थानमै केही उडान थप्ने वा नयाँ आन्तरिक गन्तव्यमा उड्ने चर्चा चले पनि औपचारिक रूपमा थप केही प्रगति भइसकेको अवस्था छैन।"

भैरहवा र पोखराका दुवै विमानस्थल मध्यरातसम्मै सञ्चालनमा छन्।

काठमाण्डूमा अर्कै चिन्ता

काठमाण्डू विमानस्थलमा दैनिक एक तिहाइले उडान कटौती भएका छन्

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन,काठमाण्डू विमानस्थलमा दैनिक एक तिहाइले उडान कटौती भएका छन्

साँघुरिएको उडान अवधिमा मौसम वा अन्य प्राविधिक कारण ढिलो हुने उडान र आपत्कालीन अवतरणका हकमा कसरी काम गर्ने भन्नेमा आफूहरू सजग रहेर तयारी थालेको काठमाण्डू विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला बताउँछन्।

"त्यो नहुने गरी नै हाम्रो तयारी भए पनि त्यस्तो सम्भावित अवस्थाका लागि सजग बनेका छौँ," निरौला भन्छन्।

"खास गरी आन्तरिक उडानमा त्यस्तो समस्या देखिने गर्छ। त्यसलाई हामीले ३० देखि ३३ प्रतिशतसम्म घटाएर व्यवस्थापन गरेका छौँ।"

यसअनुसार दैनिक ३०० भन्दा बढ्ता उडान हुने आन्तरिक हवाई यात्रा अब २०० हाराहारीमा खुम्चिएको छ।

"आन्तरिकतर्फका विमानहरूले अब अन्यत्रबाट सञ्चालनको सम्भावना हेरेमा त्यसलाई सहजीकरण गरिने भनिएको छ। अन्य विमान सेवाहरूले अहिलेको अवस्थासँगै नयाँ सम्भावना हेरेर बसिरहेको हुनुपर्छ," निरौला भन्छन्।

यतिखेर काठमाण्डूबाट र काठमाण्डूका लागि हुने उडानको टिकट मूल्य तीन गुणासम्म बढेको भन्दै यात्रु तथा व्यवसायीहरूले सरकारको आलोचना गरेका छन्।

तर काठमाण्डू विमानस्थलका महाप्रबन्धक निरौला भन्छन्, "आन्तरिकतर्फ सरकारले माथिल्लो सीमा तोकेको हुन्छ तर अन्तर्राष्ट्रियतर्फ प्रतिस्पर्धी बजारले नै मूल्य निर्धारण गर्ने भएकाले त्यसमा सरकारको हस्तक्षेप खासै हुँदैन।"

प्राधिकरणका अधिकारीहरू विमान कम्पनीहरूसँग छलफल गरेर छ महिनाअघिबाटै नयाँ परिस्थितको विषयमा निर्णय गरिएको बताउँछन्। तर व्यवसायीहरू भने बाँकी दुवै विमानस्थलको काठमाण्डू जोड्ने बाटो समेत सहज नहुँदा व्यावसायिक हिसाबले विमान कम्पनीहरू उत्साहित हुन नसकेको बताउने गरेका छन्।

यात्रुको टिकटको मूल्यदेखि योजनासम्म प्रभावित हुने अवस्थाप्रति अन्तर्राष्ट्रिय विमान कम्पनीहरूको सङ्गठन इन्टरन्याश्नल एअर ट्रान्सपोर्ट असोसिएशनले चासो व्यक्त गर्दै नेपाल सरकारलाई पत्राचार पनि गरेको थियो।