Pin It

 

 
 

९ फागुन, काठमाडौं । नेपाली सेनाका उच्च अधिकृतहरु सहभागी हुने पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ ।

सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा सुरु भएको बैठकमा सेनाका सबै विभाग, महानिर्देशनालय, निर्देशनालयसँगै सबै पृतनाका प्रमुखहरुको सहभागिता छ ।

बिहीबारबाट सुरु भएको सम्मेलनमा अहिलेको परिस्थितिमा बदलिंदो सुरक्षा चुनौतिबारे समीक्षा हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उद्घाटन सत्रमा बोल्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्वको सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्यौलपूर्ण बन्दै गएको टिप्पणी गरेका छन् ।

विश्वको सुरक्षा परिस्थिति थप संवेदनशील, जटिल र अन्यौलपूर्ण बन्दै गएको छ, यसले आन्तरिक र बाह्य परिस्थितिमा  ल्याउनसक्ने उतार–चढावले नयाँ सुरक्षा चुनौतिहरु सिर्जना हुनसक्छन् – अशोकराज सिग्देल, प्रधानसेनापति

‘यस्तो अवस्थामा आन्तरिक र बाह्य परिस्थिथितिमा आउनसक्ने उतार–चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतिहरु सिर्जना हुनसक्छन्’, उनले भने, ‘नेपाली सेना नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका अन्तरनिहित कार्यहरु सम्पादन गर्न सदैव प्रतिबद्ध छ ।’

उनले भविष्यमा देखा पर्नसक्ने सुरक्षा चुनौतिलाई सामना गर्न नेपाली सेनाले पृतनापति सम्मेलनले समयानुकूल विश्लेषण गर्ने बताए । ‘बदलिँदो परिस्थितिलाई विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउन सम्मेलन सहयोगी सिद्ध हुनेछ’, उनले भनेका छन् ।

सम्मेलनको उद्घाटनमा सहभागी रक्षामन्त्री मानबहादुर राईले पनि विश्वको बदलिँदो भू-राजनीतिक परिवेश, ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानहरूमा चलिरहेको द्वन्द्वहरूले नेपालमा पनि कुनै न कुनै रुपमा प्रभाव पार्ने विश्लेषण सुनाए।

‘सेनाले जलवायु परिवर्तनबाट सिर्जित चुनौतीहरू, प्रविधि लगायत कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीहरूलाई समेत सूक्ष्म रूपमा अध्ययन गर्नुपर्नेछ’, राईले भने ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख गौरव केसीका अनुसार, नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने बैठकको दौरान सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नेछन्।