- दीपक घिमिरे
ऊ गलत मान्छे हो भन्ने थाहा थियो तर ऊसँग टाढिन सक्दैनथेँ किन कि ऊ मेरो मालिकजस्तै फोरम्यान थियो ।
उसले एक दिन मलाई कामबाट रोक्दै भन्यो– “चाय पिनेके लिए अफिस मे आजा ।”
म छक्क परेँ । कामबाट निकालेर नेपाल पठाउँछ या कुनै सजाय दिन्छ भन्ने आफ्नै सोच मनमा सजाउँदै उसको अफिसमा गएँ ।
“लो स्यान्डविच खाओ !” उसले अफिसमा बस्न नपाउदै एउटा रोटीमा बेरेको अचम्मको आइटम खान दियो । मैले क्वाप क्वाप खाँदै भने– “बहुत मिठा हे ।”
ऊ किच्च हाँस्यो, जुँगा मिलाउँदै भन्यो– “उमर कितना हे तेरा ?”
म डराएँ, तैपनि भन्नै पर्यो– “अठार साल हुवा हुँ ।”
उसले गाला चिमोट्दै भन्यो– “अरे वा ! आजा गले लग जा ।”
म उसको अँगालोबाट फुत्केर काम गर्ने ठाउँमा आएँ । ऊ हेरेको हेर्यै भयो ।”
ऊ मलाई अनौठो खालको माया गथ्र्यो । उसको मायाभित्र मैले धेरै डर देख्दथँे । तैपनि ऊ फोरम्यान हो, टाढा हुनै सक्दैनथेँ । ऊ कहिले के भनेर जिस्काउँथ्यो त कहिले के भनेर ।
एक दिन पाकेको खजुरका गेडा दिँदै भन्यो– “ए खालो, गरम होजाएगा । सेहद के लिए बहुत अच्छा हे ।”
त्यसै त अरबको गर्मी, त्यसमा पनि गरम गराउँछ भन्दै खजुर दिएपछि मैले भने– “ज्यादा मिठा पसन्द नही हे, आप खालो ।”
उसले फेरि गाला चिमोट्दै भन्यो– “इतना प्यार से दिया हुँ, खाले ।”
खानै पर्यो, डराउँदै खाएँ ।
ऊ मलाई सेक्सी नजरले हेरिरह्यो, मानौँ म कुनै च्वाँक केटी हुँ । म लजाउँदै भए नि दुई चार गेडा खजुर खाए अनि बिदा हुँदै भने– “अब काम पे जा सक्ता हुँ अरबाप ? ”
उसले मुसुक्क हाँस्दै बिदा दियो, म डराउँदै बाहिरिएँ ।
म काममा आएको एक हप्ता बित्यो । शुक्रबारको दिन यहाँ बिदा हुँदोरहेछ । बिदाको दिन निद्रा नै नलाग्ने । यो अरब अचम्मको ठाउँ रहेछ । जुन दिन बिदा छ, त्यो दिन चार बजे आँखा खुल्ने तर काम भएको दिन सधैँ मोबाइलको आलार्मले हामीलाई उठाउने ।
निद्रा नलागेर उकुस मुकुस भएसी म उठँे । फ्रेस भएर दुबईमा बस्ने सुबास शर्मालाई फोन गरे । पहिलो हेल्लोमै उसले भन्यो– “आज घुम्न पर्च, म अबुधाबी आउँछु । भेटम्ला है ।”
मैले नाइँ भन्ने कुरै भएन, उसले आफै ठाउँ फिक्स गर्यो “त्यो अबुधाबी कोर्नेचमा ठिक दस बजे भेटम्ला है ।”
घडीमा पाँच बजेकै थिएन । रनेदाइ उठेर मोबाइलमा गेम खेल्दै थिए । किस्ने, बिस्ने अनि बालेलगायत सबै मोबाइलमै व्यस्त थिए । कोही गेम खेल्दै थिए त कोही छप्कीसँग गफमा मस्त थिए ।
उही सुपा जस्ता ठूला खबुस र एक माना चिया खाएपछि म तयार भएँ । आठ बजिनसक्दै म कोर्नेचतिर लम्किएँ । बाटोमा सुवाससँग फेरि कुरा भयो, ऊ पनि उताबाट हिँडिहाल्यो ।
बेल्चा खेलाउँदा हत्केलामा उठेका पानी फोका फुटेर घाउ बनेका थिए । हात देखाउँनै लाज लाग्ने । सुबासेसँग लजाउन पर्दैनथ्यो, तै पनि हल्का लाज लागि हाल्दो रहेछ ।
आधा घण्टा कोर्नेच पार्कमा कुरेपछि सुबासे झुल्कियो, कालो अनि ख्याउटे अनुहार लिएर । टाढैबाट बत्तीस दन्त देखाउँदै हात उठायो । अनि नजिक आएर ग्वाम्म अँगालो मार्यो ।
घामले जलेको अनि दस दिन देखि भोको जस्तो देखिने शुबासेलाई सोधे “ किन यस्तो दुब्लाको बे ? खानै नपाको जस्तो छस त ? फेसबुकमा त च्वाँक फोटा हाल्या हुन्छस् ?”
सुइय सुस्केरा हाल्दै भन्यो– “तनाब छ दाजी । खानुको फिक्स छैन । सुत्नुको फिक्स छैन । अनि कहाँबाट अनुहार चकिलो होस् । त्यो फोटा त सबै स्विट सेल्फीको कमाल हो यार ।”