बाजुराका एकजना सक्रिय एवं अनुभवी सञ्चारकर्मीले आइतबार सम्पन्न भएको मतदानको विषयमा आलोचनात्मक टिप्पणी गरे । विदेशमा भएका, कामको सिलसिलामा जिल्ला बाहिर रहेका, अन्तै बसोबास गरिरहेका, मृत्यु भएका, बिरामीले थला परेका सबैले मतदान गरे रे । बाजुरामा सायद देशैभरिमा राम्रो मतदान भयो, करिव ८० प्रतिशत ।
दार्चुलाका अर्का सक्रिय सञ्चारकर्मी मित्रले मतदान अधिकृतको हस्ताक्षरविनाका सैयौंको मत्रपत्र खसेको टिप्पणी गरेका छन् । उनले मतपत्र गन्दा कति मतमत्र हस्ताक्षरबिनाका खसेका छन् भन्ने कुराको जानकारी हुने बताएका छन् । त्यस्ता मतदान अधिकृतलाई कारवाही हुने कि नहुने भन्ने उनको प्रश्न छ । यो भुलबस हो वा नियतबस भन्नेमा उनको शंका छ ।
विभिन्न सञ्चार माध्यममा आएको खबरअनुसार कुनै ठाउँमा मतदान अधिकृत स्वयंको मिलेमतोमा ५० औं मत फर्जी खसेका छन् । कुनै ठाउँमा मतदाताहरुलाई मतदानस्थलसम्म जानमा रोक लगाइएको भन्नेसमेत आएको छ । कुनै ठाउँमा अमूक दलका कार्यकर्ताहरुले मतदान केन्द्र नै कव्जामा लिएर राखे, फरक दलका कार्यकर्ताहरुलाई बाटोमा ढुङ्गामुढा गरेर लोकतान्त्रिक चरित्र प्रदर्शन गरे भन्ने कुरा पनि आएको छ । कब्जा गरेको मतदान केन्द्र सेनाले गएर सामान्य अवस्थामा ल्याउनुपरेको खबर छ ।
यस्ता समाचारहरु आइरहँदा दुईवटा घटनाहरु स्मरणमा आए । पहिलो ः आइतबार बिहान मात्रै केही निजामति कर्मचारी साथीहरुसंग निर्वाचनमा धाँधली हुन सक्ने बिषयमा भएको थियो । साथीहरुले जवर्जस्त ढंगले मतदानको समयमा धाँधली हुन नसक्ने तर्क प्रस्तुत गरेका थिए ।
आधारहरु र नजिरहरु प्रस्तुत गर्दा समेत चित्त बुझेको थिएन साथीहरुलाई । यद्यपि उहाँहरु आफ्नो ठाउँमा अडिक हुनु होला, उहाँहरुलाई जो सुकै दलले जिते पनि परवाह छैन होला, त्यसकारण उहाँहरुले आफ्नो अडान कायम राख्नु भएको होला, त्यसमा कुनै गुनासो छैन तर बहस गरेको १० घण्टा पनि बित्न नपाउँदै आएका यी समाचारहरुले ती साथीहरुलाई पनि झस्काएको चाँही हुनुपर्छ ।
यस्तै दोस्रो घटना पनि स्मरणीय छ । ०७० सालको निर्वाचन ताका मत गणनामा खटिएका एकजना कर्मचारीले लाजै पचाएर भन्नुभएको कुरा स्मरण भयो । ‘फलानो पार्टीका करीव पाँच सय मत त मैले गणनाको बेला आफैले बढाइदिएको हुँ, एजेण्टहरु निदाउन थालेका थिएँ, त्यही मौकामा मैले पनि फाईदा लिएँ ।’