लिम्बु संस्कृति एवं मुन्धुमका ज्ञाता भरत तुङ्घङ अब हामीबीच रहेनन् । धरानमा मोटरसाइकल दुर्घटनाको अत्यन्तै दुःखद समाचार सोमबार मैले जुनबेला सुनें, सुरुमा पत्याउनै सकिनँ । तर, समाचार मेरी आˆनै साइली भाउजू निर्मला बिष्टबाट सुनिरहेकाले सत्य होइन भन्ने आधार पनि रहेन ।
मंसिर ११ गते धरानको तीनकुनेभन्दा केही तलतिर रहस्मय ढंगबाट सडक दुर्घटनामा परेर भरत तुङ्घङ तथा श्रीमती टीकादेवी तुङ्घङको निधन भएको समाचार सामाजिक सञ्जाल तथा अनलाइन पत्रिकामा आए । अनि त हालसालै भेट हुँदा भएका भलाकुसारीका क्षणहरु झल्झल्ती आउन थाले ।
भानुचोक र छाताचोकका ती दिनहरु
भरतसँग हाम्रो चिनजान करिब डेड दशकअघिको हो । जुनबेला म केन्द्रीय प्रविधि क्याम्पस धरान हात्तीसारमा वनस्पतिशास्त्र अध्यापन गर्थें । त्यसबेला हाम्रो बरोबर भेट हुन्थ्यो । भेटको माध्यम अक्सर अर्जुन माबुहाङ (मेयर, लालीगुराँस नगरपालिका तेह्रथुम) हुन्थे ।
भरत तुङ्घङ लिम्बु इतिहास, संस्कृति, परम्पराका धरोहर थिए । तर, अचम्म लाग्दो ! उनी भने किरात धर्मावलम्बी नभएर हिन्दू धर्मालवम्बी हुन् ।
अर्जुन त्यसबेला महेन्द्र बहुुमुखी क्याम्पसमा कार्यरत थिए । उनीहरु दुबैको रुची करिब-करिव उस्तै थियो । उनीहरु अक्सर लिम्बु इतिहास, लिपि, पुरातत्व र मुन्धुम सम्बन्धी कुराकानी गरिरहन्थे । म, श्रोता बनिन्थें । सुन्नलाई आनन्द लाग्थ्यो ।
अर्जुन र भरत नातामा मामा-फूपूका छोराहरु हुन् ।
मैले यसो भन्दा हुन्छ कि उनीहरु दुबैबाट लिम्बु इतिहास, संस्कृति, र लिम्बुको प्रकृतिसँगको सम्बन्धबारे धेरै कुरा बुझेको हो । कहिलेकाहीँ वन, वनस्पति र प्राणीको चर्चा आएमा तिनीहरुको वैज्ञानिक नाम के होला भनेर मलाई पनि सोधिन्थ्यो । अन्यथा, म फगत श्रोताका रुपमा सहभागी हुन्थें ।
हाम्रो अक्सर छाताचौकमा भेट हुन्थ्यो । कहिले महेन्द्र क्याम्पस, देशीलाइन, त कहिले भानुचौकमा ।
एकपटक म भरत तुङ्घङको धरानस्थित खानेपानी अफिस पनि पुगेको थिएँ । घर पनि पुगेको अलिअलि सम्झना छ । भरत प्रायः लिम्बु समुदायबाट बुनिएको झोला बोक्थेे ।