काठमाडौं । भारतले आन्तरिक उडान खोल्ने घोषणा गरेलगत्तै यता नेपाल सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो । हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
लकडाउन केही खुकुलो बनाएको भारतले अब आन्तरिक उडान खुला गर्ने घोषणा गरेको हो । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मेबाट हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् ।
भारतमा ३१ मेसम्म लकडाउन बढाइएको छ । तर, राजधानी नयाँ दिल्लीसहित कतिपय शहरमा शर्तसहित लकडाउन खुकुलो भएको छ । यहाँ सार्वजनिक यातायात समेत संचालनमा आइसकेको छ ।
मन्त्री पुरीले टुइट गर्दै सबै कम्पनी र विमानस्थललाई सेवा सूचारु हुने जानकारी गराएका हुन् । उनका अनुसार भारतले हवाई उडानका दौरान पालना गर्नुपर्ने निर्देशिका भने सरकारले जारी गर्ने भएको छ । भारत संसारको ठूलो एभिएसन उद्योगमध्ये एक हो ।
भारतमा नागरिक उड्डयन प्राधिकरणले भने यात्रुका लागि सुरक्षा निर्देशका जारी गरिसकेको छ । जसअनुसार अब यात्रुले विमानस्थलमा आएर बोर्डिङ पास लिइरहनु नपर्ने भएको छ । हवाई यात्रुका लागि एक एप्स बनाइएको छ ।
सोही एप्सबाट बोर्डिङ पास लिन सकिने भएको छ । वेवचेकइन गरी प्राप्त हुने बोर्डिङ पासलाई आफैले प्रिन्ट गरेर सोही पास बोकेर विमानस्थल जानुपर्ने छ । यात्रुले मास्क तथा अन्य सुरक्षात्मक सामग्री अनिवार्य लगाउनु पर्ने भएको छ ।
यस्तै सरकारले विदेशमा रहेका नेपालीहरुका लागि बल्ल कदम चालेको छ । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ ।
‘यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाव समेत दिन थालेका छन् । त्यसैले उद्दारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भर पर्छ ।’ यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए । प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ ।
उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरु हुनेछन्’ स्रोतले भन्यो ।
यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं, पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्नेछ । केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ । स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार तत्काल उद्दार गर्नुपर्नेहरुको संख्या केही लाख हुनेछ ।
दैनिक ५ करोडको व्यापार गुमाउँदै उड्डयन कम्पनी
आफ्नै स्वामित्वका १३ वटा जहाज भएको बुद्ध एयरले लकडाउनअघि दैनिक सय हाराहारी उडान गर्दै १ करोड ९० लाखसम्मको ब्यापार गरेको रेकर्ड कायम गरेको थियो । बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार, सामान्य अवस्था हुँदाताका काठमाडौंसहित १५ वटा गन्तव्यमा ३३ वटा रुटमा बुद्ध एयरले दैनिक ५४ सयसम्म यात्रु उडाएको छ ।
यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट हुने दैनिक यात्रु आवागमनको करिब ६० प्रतिशत हो । नौवटा जहाज भएको यति एयरका प्रबन्धक सन्दीप शर्माका अनुसार, उक्त एयरलायन्सले दैनिक ७४ सम्म उडान गर्दै ३३ सय यात्रु उडाएर १ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । त्यस्तै दुर्गम र हिमाली भेगमा मात्रै उडान गर्दै आएको तारा एयरले ५२ वटासम्म उडान गरेको छ ।
सर्वाधिक आन्तरिक उडान गर्ने बुद्ध, यति, ताराजस्तै आन्तरिक उडानमा रहेका समिट, सीता, सिम्रिक, श्री, सौर्य गरी ८ वटा र १० हेलिकप्टर कम्पनीहरु ९एयर डाइनेष्टी, अल्टीच्युट, हेली एभरेष्ट, कैलाश, मनाङ, माउन्टेन, प्रभु, श्री, सिम्रिक र समिट० ले दैनिक बढीमा ९ हजार हाराहारी यात्रुलाई हवाई यातायातको माध्यमबाट एक स्थानबाट अर्को स्थानमा पुर्याशउँदै ५ करोड रुपैयाँ हाराहारीको कारोबार गर्थे ।
तर, लकडाउनयता व्यवसायिक उडान रोकिँदा निजी क्षेत्रका १८ तथा सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगम र चिनियाँ लगानीमा सञ्चालित हिमालय एयरलायन्ससहित २० वटा एयरलयान्सका ५८ वटा जहाज ९जेट तथा साना विमान० र ३४ वटा हेलिकप्टर ग्राउन्डेड छन् ।
निजी वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघका कार्यकारी निर्देशक कमलेश वर्माका अनुसार २०७६ बैशाख महिनामा मात्रै निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले मात्रै १ अर्ब ९४ करोड रुपैयाँ कारोबार गरे । तर, यो बैशाखमा केही मेडिकल र खाद्य सामाग्री चार्टर उडान गर्ने केहीबाहेक प्रायः सबै वायुसेवा कम्पनी बन्द छन् । तीनमा प्रत्यक्ष संलग्न ६४ सय कर्मचारी लकडाउनका कारण घरमै बस्न बाध्य भएका छन् ।
सरकारले २०७६ चैत ९ गते मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान रोक्यो । त्यसको दुइदिनपछि चैत ११ देखि आन्तरिक व्यवसायिक उडानमा पनि रोक लगाइयो । लकडाउन सुरु हुनुअघिको ११ दिन ९०७६ चैत ११ सम्म० मा आन्तरिक वायुसेवा कम्पनीले जम्मा ३६ करोड २५ लाखको यात्रु तथा कार्गो उडान गरेर आम्दानी गरे ।
यो २०७५ चैतको दाँजोमा करीब ७८ प्रतिशतले कम हो । त्यस महिना आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीहरुले १ अर्ब ५३ करोड एक महिनामा आर्जन गरेका थिए ।
यसमा श्री एयरलायन्स, हिमालय र नेपाल वायुसेवा कम्पनीको आम्दानी भने समेटिएको छैन । श्री एयरलायन्स वायुसेवा संचालक संघको सदस्य भएपछि उसले आफ्ना सार्वजिनक गर्न मिल्ने विवरण नबुझाएको संघले जनाएको छ । त्यस्तै नेपाल वायुसेवा निगम सरकारी ध्वजाबाहक भएकाले उसले गरेको कारोबार पनि यो तथ्यांकमा समेटिएको छैन भने हिमालय चिनियाँ लगानीको विदेशी वायुसेवा भएकाले उसले पनि तथ्यांक संघलाई बुझाउँदैन ।
आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीहरु ९निजी मात्र० ले गत आर्थिक वर्ष २०७५–७६ मा कम्तिमा १७ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार गरेको तथ्यांक आफ्नो छाता संगठनमा बुझाएका थिए । कार्यकारी निर्देशक बर्माका अनुसार, यो हिसाबलाई आधार मान्दा नेपाली वायुसेवा कम्पनीले अघिल्लो वर्ष दैनिक करिब ४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए । चालु वर्ष यो कारोबारमा करिब १० प्रतिशत व्यापार बृद्धि भएको अनुमान गर्दा वायुसेवा कम्पनीले दैनिक साढे ५ करोड हाराहारीको कारोबार गुमाइरहेका छन् ।
नेपालमा निजी क्षेत्रले जहाजलगायत हवाई उद्योगमा १ खर्ब हाराहारीको लगानी रहेको व्यवसायीको दाबी रहेको छ । जसमा कम्तिमा १० अर्ब हेलिकप्टरको लगानी रहेको छ ।
सुगम र दुर्गममा कति व्यापार रु
आन्तरिक उडानलाई हवाई उद्योगमा तीन भागमा विभाजन गरेर हेर्ने गरिन्छ । उडान संख्या र आर्थिक कारोबारका हिसाबले सुगम रुट पहिलो स्थानमा पर्छ । सुगम रुटमा बुद्ध, यति, श्री, सिम्रिक र सौर्य एयरलायन्सका ३२ वटा विमानले सेवा दिँदै आइरहेका छन् ।
गत वर्ष भएको कुल १७ अर्ब ३७ करोडको कारोबारमा सुगम रुटमा मात्रै वायुसेवा कम्पनीहरुले १० अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । यो वर्ष चैतमा अघिल्लो वर्षको दाँजोमा २७ प्रतिशतले कारोबार घटेर ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो वर्षको चैतमा ९० करोड रुपैयाँको कारोबार भएको थियो । तर, चालु आर्थिक वर्षको चैत ११ सम्म व्यवसायीहरुले २० करोडको कारोबारमा चित्त बुझाउनु पर्योा ।
बैशाखमा सुगम रुटमा कुनै पनि उडान नहुँदा कारोबार शून्यमै झर्यो । संघले यो आर्थिक वर्ष सकिँदासम्म लकडाउन जारी नै रहेमा अघिल्लो वर्षको दाँजोमा करीब २६ प्रतिशतले व्यापार घट्ने प्रक्षेपण गरेको छ । यो अघिल्लो वर्षको दाँजोमा २ अर्ब ८३ करोड रुपैयाँ कम हो । चालु वर्षमा चैतसम्म ७ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ ।
सुगम रुटमा सर्वाधिक कारोबार हुने महिनामा असोज, कात्तिक र मंसीर महिना पर्छन् । यी महिनामा सुगम रुटमा उडान गर्ने वायुसेवाले १ अर्बदेखि १ अर्ब २७ करोड रुपैयाँसम्मको कारोबार गरेका छन् । दसैं तिहार र पर्यटकीय सिजन भएकाले यो सिजनमा एउटा जहाजले अधिकतम १० वटा सम्म उडान गर्छन् । नियमले एउटा जहाजले दैनिक १० भन्दा बढी ९टेकअफ–ल्याण्डिङ० उडान गर्न पाउँछ । कारोबार कम हुने महिनामा असार, साउन र भदौ पर्छन् ।
त्यस्तै दुर्गम तथा हिमाली भेगमा ११ वटा साना विमाबाट उडान गर्दै आएका तारा, समिट र सीता एयरले ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । चालु वर्षको चैत पहिलो सातासम्म दुर्गम उडानमा १ अर्ब ९० करोड ५० लाख रुपैयाँको मात्रै कारोबार भयो । यो वर्ष कोरोना माहामारीका कारण ४१ प्रतिशतले दुर्गम तथा हिमाली भेगको व्यापार घट्ने देखिन्छ । दुर्गम उडानतर्फ सर्वाधिक कारोबार हुने महिनामा असोज, कात्तिक र मंसीर पर्छन् । यो पर्यटकीय सिजन पनि हो ।
सीता एयरका बरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यका अनुसार, लकडाउनपछि नगन्य मात्रामा दुर्गम ९कर्णाली र लुक्ला० उडान भइरहेका छन् । ‘हामी व्यापार खोज्दै गएका होइनौं कर्णाली सरकारको अनुरोधमा खाद्यन्न र निर्माण सामाग्रीको सुर्खेत र नेपालगन्जबाट कार्गो उडान फाटफुट भइरहेको छ ।’ उनका अनुसार, तीनवटा एयरलायन्सले खाद्य संस्थान र हुम्ला जिल्ला समन्वय समितिको आव्हानमा ६–७ करोडको कार्गो उडान गरेका छन् । ‘यो हाम्रो आम्दानीमा नगण्य आर्जनमात्रै हो हामीले सामाजिक उत्तरदायित्व ठानेर उडान गर्दै आएका छौं तर एकतर्फीमात्रै यात्रु बोक्न रोक नै लगाइएको छ ।’
फाटफुट हेलिकप्टर उडान
नेपालमा दर्ता भएका १० वटा निजी हेलिकप्टर कम्पनीसँग ७ प्रकारका ३४ वटा हेलिकप्टर छन् । गत आर्थिक वर्ष हेलिकप्टरले ३ अर्ब ५८ करोडको कारोबार गरेका थिए । तर, लकडाउन सुरु भएको महिनामा हेलिकप्टरको आम्दानी २४ करोडले घटेर ४ करोडमा खुम्चियो । हेलिकप्टरले मासिक ५६ करोड रुपैयाँसम्मको कारोबार गरेका छन् । कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेका अनुसार, हेलिकप्टर कम्पनीले मासिक कम्तिमा ६० लाखदेखि ४ करोड रुपैयाँसम्मको कारोबार गर्छन् भने वार्षिक ३० देखि ४० करोड रुपैयाँसम्मको कारोबार गर्छन् ।
तर, लकडाउन यता ३४ मध्ये कम्तिमा २० वटा ग्राउन्डेड छन् । ‘सबै कम्पनीले एउटा दुइटा हेलिकप्टरमात्रै सञ्चालनमा ल्याएका छन्,’ पाण्डेले भने, ‘सञ्चालनमा ल्याइएकामा पूर्ण प्रयोग भएका छैनन् । बढीमा १० प्रतिशतमात्रै प्रयोग भएको देखिन्छ ।’ नेपालमा हेलिकप्टरलाई दैनिक ७ घण्टासम्म उडाउन मिल्छ । तर, पाण्डेले मासिक २ सय घन्टा उडेका हेलिकप्टर अहिले २० घन्टा हाराहारीमात्रै उडेको बताए । हाल व्यवसायीसँग भएका हेलिकप्टरमध्ये एयरबस कम्पनीले उत्पादन गरेका बी–थ्री र बी–थ्री–ई मोडलका हेलिकप्टर साढे तीन घण्टासम्म उड्न सक्छन् ।
नेपालमा मनोरञ्जनात्मक उडानको दाँजोमा बिरामी तथा घाइते उद्धारमै हेलिकप्टर केन्द्रित छन् । काठमाडौंबाट सबैभन्दा लामो दूरी पूर्वमा ताप्लेजुङ र पश्चिममा धनगढीसम्म पुग्न सक्छन् । उडान नै नहुने भएपछि अहिले खर्च कटौती गर्दै व्यवसायीहरुले हेलिकप्टरको नेपालमै बिमा गर्ने तयारी गर्दै अहिलेको समयमा बिमा प्रिमियम तिर्न नपर्ने गरी जहाज थन्क्याएका छन्