Pin It

एलिट क्लब विराटनगरले  पक्षमा समर्थन जनाउँदै सरोकारवाला र एलिटहरुको बीच डा. गोविन्द केसीको जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने मा भर्चुअल विमर्श गराएको छ।क्लबका अध्यक्ष विश्वनाथ रिजालले डा.केसीको जायज मागको बारेमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।माथेमा प्रतिवेदनलाई सरकारले लागू गरेर जनताको हितमा स्वास्थ्य सेवालाई रुपान्तरण गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियोे।'डा.केसीले एउटै बिषयमा १९औं पटकसम्म अनशनमा बस्नुपर्ने अवस्था आउनु लज्जाको बिषय हो'- अध्यक्ष रिजालले भन्नुभयो- 'जनताको मौलिक अधिकारलाई सरकार स्वयंले कार्यान्वयन गरेर जनतालाई  सेवासुविधाको पहुँचमा पुर्‍याउन लागि पर्नुपर्नेमा एउटा व्यक्तिले पटकपटक सत्याग्रहमार्फत आवाज उठाउनुपर्ने, सरकारको सम्झौता गर्ने  तर कार्यान्वयन नगर्ने अकर्मण्यताले गम्भीर बिषय पनि  ठट्यौलीजस्तो बन्न पुगेको छ।'सरकार जनताको सर्वोपरि हितको पक्षमा  संवेदनशील नभइदिदा  जुनसुकै सरकार आएपनि डा. केसीको मागलाई सम्झौता र जुसमा समापन गर्ने गरिएको विडम्बना देख्नुपरिरहेको उहाँको थप कथन थियोे।

प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस संसदीय दल,प्रदेश न.१ का सचेतक माननीय सुयर्माराज राईले डा.केसीले उठाउनुभएको  मुद्दा देश र जनताको हितमा भएको बताउनुभयो।सचेतक राईले भन्नुभयो- 'आज जनताले स्वास्थ्य उपचार गर्नलाई कि सुकुम्बासी बन्नुपरेको छ कि बधुंवामजदुर।त्यो पनि हुननसक्नेहरु अकाल मृत्युको पर्खाइमा बस्नुपर्छ।' सचेतक राईले अगाडि भन्नुभयो-'संविधानले व्यवस्था गरेको मौलिक हकको उपभोग गर्न नपाउने परिस्थितिबाट नेपाली नागरिकहरु गुज्रनुपर्ने अवस्था विद्यमान हुनु लोकतान्त्रिक मुलुकको लागि दुखद र अँध्यारो पाटो हो।' सचेतक राईले स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्नुपर्ने कुरामा जोड दिंदै चिकित्सा क्षेत्रमा भएको बेथिति र माफियाकरणको समूल अन्त्य हुनुपर्छ भन्नुभयो।

 प्राध्यापक डा.भेषप्रसाद  धमलाले कोविड-१९ को महामारीपश्चात  विश्वमै स्वास्थ्य र शिक्षा क्षेत्रमा नयाँ 'न्यारेटिभ' को प्रारम्भ भइसकेको उल्लेख गर्नुभयो।'विश्वका धनी र शक्तिशाली राष्ट्रमा समेत नागरिकका लागि स्वास्थ्य र शिक्षालाई राष्ट्रिय जिम्मेवारीको पहिलो शर्त मानिंदै आएको छ।हाम्रोजस्तो देशमा त सरकारको पहिलो कर्तव्य पनि हो।तर डा. केसीको जायज मागलाई वेवास्ता गरिनु दुखद भएको प्राध्यापक  धमलाको धारणा थियोे।

कार्यक्रममा नेपाल मानवअधिकार तथा शान्ति समाज, नेपालका अध्यक्ष उत्तम पुडासैनीले डा. केसीको मागका बारेमा राजनीतिक दलहरू उदासिन रहेकोे आरोप लगाउनुभयो।

नेपाल प्रजातान्त्रिक चिकित्सक संघ,कोशीका अध्यक्ष डा. फरवार्ड सिलवालले डा. केसीको मागलाई सम्बोधन गर्न विलम्ब गर्न नहुने सुझाउनुभयो।क्लबका पूर्वमहासचिव दिनेश श्रेष्ठले डा. केसीको मागमा जनताको भावना बिम्बित भएको हुँदा सरकारले  तुरुन्त सम्बोधन गर्नुपर्ने माग गर्नुभयो।

कार्यक्रममा प्राध्यापक मिनराज ढकाल,सामाजिक अभियन्ता डिक घिमिरे,पूर्वमेयर रमेश पौडेल,सामाजिक अभियन्तारामचन्द्र गौतम र विजयता अधिकारीलगायत सरोकारवाला र एलिटहरुले डा.केसीको सत्याग्रहमा समर्थन र ऐक्यबद्धता जनाउनुभएको थियोे।

बौद्धिक जमातको विमर्श र विचार मंथनको थलोका रूपमा प्रसिद्ध एलिट क्लबले डा.केसीको सत्याग्रहमा समर्थन गर्दै यसअघि पनि कार्यक्रम गर्दै आएको छ।कोविड-१९ महामारीको बेला राष्ट्रियस्तरमै विभिन्न क्षेत्रमा सरोकारको बिषयमा भर्चुअल विमर्शसमेत गराउदै आएको छ।