ब्रिटेनमा वैज्ञानिकहरूले भिटामिन 'डी'ले कोभिड-१९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन्।
सहभागी हुन चाहने मानिसहरूको घरमा छ महिनासम्म प्रतिदिन भिटामिन 'डी' सेवन गर्नको निम्ति औषधि पठाइनेछ। त्यस्ता व्यक्तिमा भिटामिन 'डी'को कमी भएनभएको सुरुमा जाँचिनेछ।
जाडो याममा मानिसहरूमा भिटामिन 'डी'को झन् कमी हुन सक्ने भएकाले यसअघि नै यूकेका निवासीहरूलाई थप भिटामिन लिन भनिएको थियो।
त्यो सुझाव भने साधारण स्वास्थ्य अवस्था राम्रो बनाइराख्नका निम्ति भनिएको हो, कुनै खास सङ्क्रमण रोक्न होइन।
कोभिड-१९ भाइरस ‘कुनै कुनै सतहमा २८ दिनसम्म बाँच्छ’
कोरोनाभाइरसमा देखिएको परिवर्तनले पार्ने प्रभावबारे वैज्ञानिकहरू रनभुल्ल
के मैले पनि भिटामिन 'डी' लिनुपर्ला?
विशेषगरि धेरै उमेरका मानिसहरू, धेरै तौल भएका मानिसहरू, अनि अश्वेत तथा एसियाली मूलका मानिसहरूमा भिटामिन 'डी' को कमी भएको पाइएको छ। यी सबै समूहका मानिस कोभिडबाट गम्भीर बिरामी हुनसक्ने जोखिम समूहमा पनि पर्छन्।
बार्ट्स च्यारीटीको सहयोगमा क्वीन मेरी युनिभर्सिटी अफ लण्डनका अनुसन्धानकर्ताहरूले परीक्षण गर्न लागेका हुन्।
मुख्य अनुसन्धानकर्ता डेभिड जोलिफ भन्छन् परीक्षणले भिटामिन 'डी'ले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको 'निश्चित् जबाफ दिने सम्भावना छ। '
"भिटामिन 'डी'का उपयोग गर्न थोरै मूल्य पर्छ, यसको प्रयोगको थोरै जोखिम छ अनि यदि प्रभावकारी प्रमाणित भए यसले कोरोनाभाइरसविरुद्ध संसारको लडाइँमा निकै बल पुग्नेछ," उनले भने।
भिटामिन 'डी'को प्रयोग निकै सुरक्षित मानिए पनि हरेक दिन तोकिएकोभन्दा धेरै लिने गरेमा त्यसले दीर्घकालमा जोखिम उत्पन्न गर्न सक्छ।
महामारीका बेला धेरै मानिस घरभित्रै बस्दा कतिपयमा भिटामीन 'डी'को कमी हुनसक्छ।
घाममा बन्ने भिटामीन
साधारणतया धेरै मानिसले घरबाहिर समय बिताउँदा सूर्यको किरणबाट छालामार्फत् भिटामिन 'डी' प्राप्त गर्छन्।
ब्रिटेनको स्वास्थ्य सेवा एनएचएसले मानिसहरूलाई यदि धेरै समय घरभित्रै बिताउने गरिएको छ भने प्रतिदिन १० माइक्रोग्राम भिटामिन 'डी' खान सुझाव दिएको छ।
महामारीभन्दा पहिले पनि त्यहाँ मानिसहरूलाई अक्टोबरदेखि मार्चसम्म भिटामिन 'डी' लिन भनिएको थियो।
पब्लिक हेल्थ इङ्ग्ल्यान्डले यदि तपाईँ बाहिर निस्कने गर्नुहुन्न, यदि तपाइँ कुनै आश्रयस्थलमा बस्नुहुन्छ र यदि तपाइँ घाममा निस्कँदा पूरै जीउ ढाकिने कपडा लगाउनुहुन्छ भने तपाइँलाई वर्षैभरि भिटामिन 'डी' खान सुझाव दिने गरेको छ।
साथै कालो छाला भएका मानिसहरूले बाहिर धेरै समय बिताएपनि पर्याप्त भिटामिन 'डी' प्राप्त नगरेको हुनसक्ने भन्दै थप खानसक्ने बताइएको छ।