Pin It

सात वर्ष अघि विराट मेडिकल कलेज तथा टिचिङ अस्पताल संचालनमा ल्याएको कम्पनीले क्यान्सर अस्पतालका लागि सात तले भवन निर्माण गरिरहेको छ।

विराटनगरको उत्तरी सिमाना ढाँटदेखि १ किलोमिटर पूर्वमा रहेको टङ्कीसिनवारीमा सञ्चालन भइरहेको अस्पताल परिसरभित्रै क्यान्सर अस्पताल निर्माण भइरहेको छ। क्यान्सर उपचारका लागि ६ करोडका लागतमा ३ वटा बङ्करको निर्माण गरिरहेको कम्पनीका अध्यक्ष डा ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

क्यान्सर उपचारका लागि रेडिएसन मेसिन संचालन गर्दा त्यसबाट शक्तिशाली रेडियो विकिरण उत्पन्न हुने र त्यो वाहिर नजाओस् भनेर जमीनमुनि बङ्कर निर्माण गरिएको हो।

त्यस्तै २ सय करोडका लागतमा २ वटा बेसमेन्टसहित ७ तले भवनको निर्माण गरिरहेको छ। यसबाहेक थप २ सय करोड रुपैयाँको लागतमा अस्पतालमा आवश्यक मेसिन खरिदको प्रक्रिया अगाडि बढाइएको छ।अस्पतालमा पूर्ण रूपमा सञ्चालनमा आउँदासम्म ४ सय ६ करोडको लगानी हुने उनले बताए। कार्कीले माछापुच्छ्रे, एनएमबी र ग्लोबल आइएमई गरी ३ वटा बैङ्कको सहवित्तीयकरण ऋण लगानीमा भवन निर्माण र मेसिन खरिदको काम अगाडि बढाइएको बताए

बङ्करको छतको ढलाइमात्र ९ फिटको छ। त्यस्तै वरिपरिको पर्खालको मोटाइ साढे सात फिटको छ। बङ्करमाथि ८ फिटसम्म खालि राखिने र त्यसमाथि ५ तलाको छुट्टै भवनको निर्माण गर्ने योजना छ।उनका अनुसार सात तले अस्पताल भवनको प्रत्येक तलाको क्षेत्रफल ४५ हजार वर्गफिट हुनेछ। अस्पतालले दैनिक ५ हजार बिरामीलाई उपचार गर्ने क्षमता राख्नेछ।  अहिलेको ४ सय शैय्यालाई १ हजार २ सय शैय्यामा रूपान्तरण गरिनेछ।

 

प्रदेश नम्बर १, २, ३ र भारतको विहार र पश्चिम बङ्गालसम्मका बिरामीलाई लक्षित गरेर अस्पतालको निर्माण भइरहेको छ। अध्यक्ष कार्कीले मेजर ओटीका लागि मात्रै १२ वटा अपरेसन थिएटर राखिने जानकारी दिए। सबै अपरेसन थिएटरमा मिलाएर दैनिक कम्तीमा ५० वटा मेजर अपरेसन गर्न सकिनेछ। क्यान्सरको अपरेसन थिएटर छुट्टै हुनेछ।

उनले अस्पतालमा कलेजो, मृगौला लगायतका मानव अङ्ग प्रत्यारोपण, बर्न युनिटसहितको प्लास्टिक सर्जरीलगायत कलेजो र पित्तथैलीको नशाको शल्यक्रियाजस्ता जटिल उपचारकर्म पनि गरिने स्पष्ट पारे। सात तले अस्पतालको सञ्चालन आगामी माघदेखि वैशाखसम्ममा गरिसक्ने योजना छ। त्यस्तै क्यान्सर अस्पतालको उद्घाटन २०७९ असारभित्र भइसक्नेछ।

‘क्यान्सरका लागि रेडिएसन थेरापी काठमाडौं पूर्वमै खट्केको विषय भएको छ’, कार्कीले भने, ‘हामीले क्यान्सरका ३ वटा बङ्करमा राख्न अमेरिकाको प्रसिद्ध भेरियन कम्पनीका ३ वटा मेसिन मगाएका छौँ।’ उनले प्रत्येक १० लाख जनसङ्ख्यामा १ रेडिएसन मेसिन हुनुपर्ने अनुसन्धानले देखाएको दाबी गरे।

यस हिसाबले प्रदेश १ को ५० लाख तथा भारतको पश्चिम बङ्गाल र विहारका केही भागको मिलाएर ३ करोड जनसङ्ख्याका लागि पूर्वी नेपालमा मात्र ३५ वटा मेसिन चाहिने अध्ययनले जनाएको छ।उनको भनाइ छ, ‘केही समययता समयमै क्यान्सरको डाइग्नोसिस हुने क्रममा वृद्धि भएको छ। त्यसैले रेडिएसनको क्षमता देशका विभिन्न भागमा वृद्धि गर्नु आवश्यक भइसकेको छ। रेडिएसन गर्न जाँदा २–३ महिना बस्नुपर्ने र लामो समय बाहिर रहँदा बिरामीलाई आर्थिक भार पर्ने देखिएको छ।’

काठमाडौंबाहिर झापाको बिएन्डसी अस्पतालमा रेडिएसन थेरापीको एक मेसिन सञ्चालनमा छ। कार्कीले अस्पतालमा पूर्वी नेपालमा नै पहिलो पटक जी कम्पनीको ५ सय १२ स्लाइसको सीटी स्क्यान तथा १ दशमलव ५ र ३ टेस्लाका गरी २ वटा एमआरआई मेसिनको प्रतीतपत्र खोलिएको जनाए।

उक्त सीटी स्क्यान मेसिनबाट ३० सेकेन्डमै बिरामीको एन्जीओग्राफी र सीटी एनजीओ गर्न सकिन्छ। ‘मुटुको क्याथल्याब हामीले भर्खर सुरु गर्यौं’, उनको भनाइ थियो, ‘एनजीओग्राफी र एनजीओप्लास्टिक पहिलेदेखि सञ्चालनमा थिए। मुटुका लागि हामी विशेषज्ञ डाक्टरको सङ्ख्या वृद्धि गर्ने क्रममा छौँ।’

उनले ‘ल्याप्रोस्कोपिक वर्ल्ड क्लास सर्जरी थ्री डी’ यस अस्पतालमा मात्र गरिने दाबी गरे। यस्तो शल्यक्रिया पाठेघरका लागि गरिन्छ। त्यस्तै काठमाडौं पूर्व यस अस्पतालमा मात्र पेटको आन्द्राको जटिल शल्यक्रिया गर्ने उनको भनाइ छ। कार्कीले अस्पतालमा हेमो डाइलासिसका १२ मेसिन सञ्चालनमा रहेको र नयाँ भवनको निर्माणपछि २५ वटा सञ्चालनमा ल्याइने उल्लेख गरे।

विराटनगर अस्पतालले टङ्कीसिनवारीमै विराट मेडिकल कलेज २०१४ देखि सञ्चालन गरिरहेको छ। यसको निर्माण २०१० देखि सुरु गरिएको थियो। काठमाडौं विश्वविद्यालयले २०१४ मा सम्बन्धन दिएपछि मेडिकल कलेज सञ्चालनमा आएको हो।

 

कलेजबाट एमबिबिएसका २ ब्याच विद्यार्थी पास आउट भइसकेका छन्। कलेजले शतप्रतिशत परिणाम ल्याइरहेको छ। कम्पनीले सन् २०१२ देखि विराटनगरमा छुट्टै अस्पताल सञ्चालन गर्दै आएको छ। स्त्री तथा प्रसूति रोग विशेषज्ञ कार्कीले सन् १९९५ मा विराटनगरमा १ शैय्याको नर्सिङ होम सञ्चालनमा ल्याएर आफ्नो यात्रा सुरु गरेका थिए।