आजको नेपाल खबर :राजनीति र कूटनीतिमा मौन बस्नु वा प्रतिक्रिया दिनु दुवै अर्थपूर्ण हुन्छन् । भारत र चीनको छिमेकी मुलुक हो, नेपाल । नेपाल र भारतको भौगोलिक सीमामात्रै जोडिएको छैन, परापूर्वकालदेखि धर्म संस्कृति, परम्परा, रीतिरिवाज, वैवाहिक सम्बन्ध पनि कायम रहँदै आएको छ ।
चीनसँग भन्दा भारत र नेपालबीच भावनात्मक सम्बन्ध पनि रहेको छ । यसर्थ भारत र नेपालबीचको सम्बन्ध अद्भूत र विशिष्ट रहेको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको चार दिन पुगिसक्दा पनि भारतीय समकक्षी नरेन्द्र मोदीबाट बधाई नआउनुले कूटनीतिक क्षेत्र तताएको छ ।
यसअघि नेपालका नयाँ प्रधानमन्त्रीलाई तुरुन्तै भारतीय समकक्षीबाट बधाई आउने गरेको थियो । पछिल्लोपटक २०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बधाई दिएका थिए ।
तर, अहिले देउवा प्रधानमन्त्री बनेको चार दिन भइसकेको छ । भारतीय समकक्षी मोदीले टेलिफोन गरेर बधाई पनि दिएनन्, सन्देश पनि पठाएनन् । भलै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेर र भारतीय रक्षामन्त्री राजनाथ सिंहले देउवालाई टेलिफोनमार्फत बधाई भने दिएका छन् ।
भारतीय राजदूत विनयमोहन क्वात्राले दिएको बधाइमा नै देउवाले चित्त बुझाउनु परेको छ ।देउवाको सत्तारोहणलाई भारतीय सञ्चार माध्यमले प्रमुखताका साथ सकारात्मक समाचार सम्प्रेषण गरेर नेपालको राजनीतिमा हस्तक्षेप गर्न नहुने सुझाव दिए ।
तर, किन मोदीले फोन गरेर देउवालाई बधाई दिएनन् ? भारतले मात्रै होइन उत्तरी छिमेकी चीनले राजदूतबाट मात्रै बधाई दिएको छ । आखिरी किन ?भारत र चीनबाट समकक्षीस्तरबाट देउवालाई बधाई नआउनुलाई अहिले कूटनीतिक क्षेत्रमा तीन कारणबारे चर्चा भइरहेको छ ।
कारण १:विवादास्पद देउवाको सत्तारोहण अदालतबाट कतिपय फैसला राजनीतिक दलहरुबीच विवादास्पद हुने गर्छ ।
अहिले देउवालाई सत्तारोहण गराएको सर्वाेच्च अदालतको गत सोमबारको फैसला पनि विवादास्पद बनेको छ । विपक्षी अर्थात तत्कालीन सरकार पक्षले देउवालाई सत्तारोहण गराउने सर्वाेच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएको छ ।
तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टी स्थायी कमिटी बैठकमा न्याय पाउन ठाउँबाट अन्याय भएको टिप्पणी गरेका छन् । अर्थात कतिपय न्यायलयका फैसलाहरु राजनीतिक दलहरुमा विवादास्पद रहने गर्छ ।
अदालतबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आएको परमादेशप्रति एमालेको ओली समूह नकारात्मक छ भने देउवालाई प्रधानमन्त्री बनाउन गठित गठबन्धन सकारात्मक छ ।
दलहरुबीच नै विवादास्पद बनेको विषयमा बोलिहाल्नु अनुचित हुने ठानेर भारतीय र चिनिया समकक्षीबाट देउवालाई बधाई नआएको हुन सक्ने एक कारण मानिएको छ ।
नेपालमै देउवाको सत्तारोहण विवादास्पद बनेका बेला फ्रन्टलाइनमा आएर बधाई दिँदा गठन्धनलाई साथ दिएको सन्देश जाने भएकाले भारत र चीनले मौनता साँधेर बसेको अनुमान गरिएको छ ।
साथै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि भारत र चीनसहितक मुलुकहरुका लागि कम्फर्टेबल हुने सरकार बनाउनु पर्ने बताएका थिए । जुन निकै आलोचित बनेको थियो ।
नेपालको हरेक राजनीतिमा भारतको भूमिका रहने बताइने र प्रचण्डलाई चीनको साथ रहेको भनिने अवस्थाका कारण पनि अहिले विवादास्पद सत्तारोहण गरेका देउवालाई बधाई नआउनुको कारणसँग जोडेर हेरिएको छ ।
कारण २:दोस्रो कारणको रुपमा विश्वासको मत नपाए देउवा ३० दिनमै विदा हुन सक्ने अनुमानलाई पनि लिइएको छ । ३० दिनभित्र विश्वासको मत नपाए र संसद विघटन नगरेमा राष्ट्रपतिले संविधानको धारा ७६ (८)अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ ।
सो बखत संविधानको धारा ७६(२)अनुसार सरकार गठन गर्दा एमाले नै सरकारमा आउने सम्भावना पनि रहेका कारण एक महिने देउवा सरकारलाई बधाई दिनु उचित नहुने भारत र चीनको बुझाइ हुनुपर्ने देखिन्छ ।
कारण ३:तेस्रो र महत्वपूर्ण कारणको रुपमा लिएको छ, तत्कालीन पाँच पूर्व प्रधानमन्त्रीहरुको गत जेठ २९ गतेको वक्तव्य । २०७८ जेठ २९ गते तत्कालीन पाँच पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र
डा. बाबुराम भट्टराईले संयुक्त रुपमा वक्तव्य निकालेर नेपालमा वाह्य हस्तक्षेप बढेको आरोप लगाएका थिए ।उक्त वक्तव्यमा भारततिर लक्षित गर्दै उनीहरु नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भन्नेतर्फ सजग गराएका थिए । क्यानाडा नेपाल बाट