विराटनगर । आयात गरेको सामानकोभन्सार जाँचपासमा ‘बदनियत’ मनसाय राखेको पाइएपछि विराटनगर भन्सारमुख कार्यालयका प्र भन्सार अधिकृतसहित तीनजना तानिएका छन् । भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा, अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल मन्त्रालय र विभागमा तानिनु भएको हो ।
आयातकर्ता देन इन्टरनेसनल काठमाण्डौंले चीनबाट ७३ हजार डलर बराबरको जुत्ता र तयारी गार्मेन्ट आयात गरेर राजस्व दाखिला गर्ने तयारीमा रहँदा दर्ता प्रज्ञापनपत्र रद्द गरिएको आरोप छ । आयतकर्ताका भन्सार प्रतिनिधि शरण खरेलले ४५ लाख राजस्व दाखिला गर्ने घोषणा गरेको उक्त मालवस्तुको दर्ता प्रज्ञापनपत्र ‘सिस्टम’मा प्रविष्टि गरिसकेपछि ‘डिलिट’ भएको थियो । आईसीपी परिसरमा आईसकेको मालवस्तुको प्रज्ञापनपत्र सिस्टमबाट डिलिट भएपछि विभागले एउटा टोलि खटाएर छानविन गरेको थियो । भन्सार कार्यालयले सामान आईनपुगेको जवाफ दिएपनि विभागको टोलिले गोदाममा भेटेपछि रद्द गरिएको प्रज्ञापनपत्रको सामान फेला परेको थियो । उक्त सामानको राजस्व ४५ लाख घोषणा गरिएपनि पछि एक करोड २५ लाख राजस्व असुल गरेर छोडिएको छ ।
भन्सार प्रमुख सापकोटाले शुक्रबार रमाना बुझेर मन्त्रालय जानु भएको छ । सापकोटाको स्थानमा तत्काल कामकाज गर्नका लागि सिनियर अधिकृत सुवास श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । अधिकृत शर्मा र नासु दाहाल गत बिहीबारदेखि नै भन्सार विभागमा झिकाइएको थियो ।