Pin It
 

३० असोज, महोत्तरी । दसैं सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन् । दशैंमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दशैं खर्चको जोहोमा लागेका हुन् ।

अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का खोस्रीरहेका भेटिन्छन् । दशैंमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि ग्रामीण महिला अहिले विभिन्न रङका माटो सङ्कलनमा लागेका छन् ।

तराईका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दशैं, तिहार र छठअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ ।

यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् । अहिले फरक–फरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् ।