Pin It

 

 

आफ्नै पार्टीभित्र विद्रोह गरेर कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त केदार कार्कीले यसपटक शेखर कोइरालाको आडमा पार्टी केन्द्रलाई चुनौती दिएर प्रदेशमा मुख्यमन्त्री बनेका हुन्।

कोशी प्रदेशको छैटौं मुख्यमन्त्री बनेका केदार कार्की नेविसंघका विद्रोही कार्यकर्ताका रुपमा चिनिन्थे।

विद्यार्थी जीवनमा बनाएको त्यही स्वभावलाई अहिले पनि निरन्तरता दिदै उनले प्रदेशको मुख्यमन्त्रीसम्मको यात्रा निश्चित गरेका छन् ।

२०३० पुस ७ मा जन्मेका उनी जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको इकाई सभापति भएका थिए।

विद्यालय स्तरको २०५२ सालमा नेविसंघकै क्याम्पस इकाई सभापति भए। यसपछि उनी नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे। उनी हाल नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पनि क्रियाशील छन् ।

प्रदेश सभा सदस्यबाट सुरु भएको उनको संसदीय यात्राको दोस्रो आयाम संसदीय दलको प्रमुख सचेतकका भूमिकामा देखियो ।  कार्की २०७८ भदौदेखि २०७९ पौषसम्म कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत बनेका थिए।

कोशी प्रदेशको प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा दोस्रो पटक नेपाली काङ्ग्रेसबाट निर्वाचित सांसद हुन् कार्की। पहिलो प्रदेश सभामा सबैभन्दा धेरै विशेष समयमा बोल्ने नेताका रूपमा कार्की प्रदेश सभाको सक्रिय सांसदका रूपमा सूचिकृत भएका थिए।

स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नीसहित २ छोरा छन्।

कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार ढलेपछि सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वको निर्णयको विरूद्धमा उभिएर उनी आज मुख्यमन्त्री नियुक्त भएका छन्।