भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ।
बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो।
करिब २३ वर्षीय सुजन रावतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले सेतोपाटीलाई बताए।
रावत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
रावतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए। रावतको शुक्रबार दिउँसो करिब पौने १ बजेतिर अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा सवा १ बजेतिर मृत्यु भएको हो।
अस्पताल पुर्याएपछि उनलाई सिपिआर दिइएको थियो।