Pin It

 

राप्रपाको जुलुस

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डूको भद्रकालीमा गरेको विरोध प्रदर्शन

सङ्घीयता खारेजी, हिन्दु राष्ट्र र राजतन्त्र फर्काउनुपर्ने सहितका ४० बुँदे माग राख्दै प्रदर्शन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल नवीन सम्झौताको लागि तयारी गर्न सरकार र प्रमुख दलहरूलाई आग्रह गरेको छ।

आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिन भन्दै राप्रपाले गरेको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजादेखि माओवादीसम्म 'सबै मिल्ने सबै अट्ने' व्यवस्थाको प्रस्ताव गरे।

काठमाण्डूमा प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, "म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। तत्काल नवीन सम्झौताको लागि तयारी हुनुस्, तयारी गर्नुस्, जहाँ राजादेखि माओवादीसम्म सबै मिल्ने सबै अट्ने नयाँ व्यवस्था निर्माण गरौँ र देशलाई नवीन सम्झौताबाट अगाडि बढाऔँ।"

देश यही अवस्थामा रहन नसक्ने भन्दै उनले नयाँ सम्झौता गरेर देश अगाडि बढाउनुपर्ने बताए।

त्यसको निम्ति उनले सत्ता पक्षका तीन मुख्य दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आपसमा सल्लाह गर्न आग्रह पनि गरे। उनले कांग्रेस र एमालेलाई पहिलेदेखि अनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई हालसालैदेखि 'माओवादीको मुद्दामा पछि लागेका' पार्टीको संज्ञा दिए।

काठमाण्डूको भद्रकालीमा भेला भएका प्रदर्शनकारीलाई पूर्वतर्फ रहेको सिंहदरबार अगाडिको बाटोमा जान प्रहरीले रोक लगाएपछि केहीबेर त्यहाँ तनावपूर्ण अवस्था देखिएको थियो।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रदर्शनको क्रममा सात जना घाइते भएको बताए।

गृहमन्त्रीप्रति आक्रोश

प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएको भन्दै राप्रपा अध्यक्ष लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग गरेका छन्।

"गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनाका रूपमा राख्नेछौँ। आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि राप्रपाले थपेर अघि लैजान्छ," भद्रकालीबाट अगाडि बढ्न नपाएकै बेला अध्यक्ष लिङ्देनले भने।

"तपाईँले निषेधित क्षेत्र घोषणा गरेर आफ्नो सीमा तोक्नुभएको छ। हामी अहिले त्यहाँ जान नपाउने दिन बनाउनुभयो। तर एक दिन आउनेछ, तपाईँले त्यहाँबाट कतै निस्किन नपाउने अवस्था बनाउने छौँ।"

आफूहरूले शान्तिपूर्ण ढङ्गले विरोध प्रदर्शन गर्न दिन आग्रह गर्दा गृहमन्त्रीले राज्य शक्तिको तागत देखाएको आरोप पनि लिङ्देनले गृहमन्त्री लामिछानेमाथि लगाए।

"निहत्था मानिसमाथि आक्रमण गरेर देखिस् म गृहमन्त्री भनेर बहादुरी देखाउने?," उनले भने।

डेढ महिनाअघि ४० बुँदे माग राखेर ती माग पूरा गर्न सरकारलाई दबाब दिन भन्दै आज राप्रपाले गरेको प्रदर्शन भद्रकालीबाट अगाडि बढ्न नपाएपछि त्रिपुरेश्वर हुँदै थापाथली पुगेर सभामा परिणत भएको थियो। र, त्यही अध्यक्ष लिङ्देनसहित राप्रपाका नेताहरूले सभा सम्बोधन गरेका थिए।

"शान्तिपूर्ण गरिएको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस हान्ने, लाठीचार्ज गर्ने व्यापकै दमन गर्‍यो," प्रवक्ता मोहन श्रेष्ठले बीबीसीसँग भने।

उनले अब चरणबद्ध रूपमा काठमाण्डूमा प्रदर्शनका कार्यक्रमहरू हुने बताए।

प्रधानमन्त्री प्रचण्डलाई फागुन ९ गते ४० बुँदे मागसहितको ज्ञापन पत्र बुझाएपछि सरकारले आफ्ना मागको सम्बोधन नगरे राप्रपाले सडक र सदनबाट भद्र र शान्तिपूर्ण आन्दोलन गर्ने बताउँदै आएको थियो।

राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्र मात्रै नभई माइतीघर, सिंहदरबार र त्रिपुरेश्वर क्षेत्रमा सवारीसाधन आवागमनमा बाधा पुगेको थियो भने सर्वसाधारणलाई यात्रा गर्न दिनभरि नै कठिनाइ भएको थियो।

के छन् ४० बुँदे ज्ञापनपत्रमा?

राप्रपाको ४० बुँदे मागका सुरुका चार बुँदामा अभिभावकीय भूमिकामा राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य, प्रदेश संरचनाको खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने कुरा उठाइएको छ।

कार्यकारी पदमा बस्नेहरूका लागि दुई कार्यकालको सीमा तोक्ने, जनप्रतिनिधिहरूको सङ्ख्या घटाउने, संवैधानिक नियुक्तिमा भागबन्डा नगर्ने, दलीय भात सङ्गठनको खारेजी लगायतका विषय पनि छन्।

त्यसबाहेक जनताका दैनिक जीवन र सरोकारसँग जोडिएका विषयवस्तु पनि ४० बुँदामा समेटिएका छन्।

श्रमिकहरूको सुविधा, नि:शुल्क स्वास्थ्य तथा सुविधा, बिमा, राज्यका निकायको डिजिटाइजेशन, २०४६ सालयताका उच्च पदस्थ नेताको सम्पत्ति छानबिन र लघुवित्त-सहकारीको नियमन एवं पीडितहरूलाई राहत, एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने लगायतका विषय पनि छन्।

उक्त दलले कृषि, पर्यटन, रोजगारी सिर्जना, विकास निर्माणको प्रभावकारिता, भू उपयोग नीति, परराष्ट्र नीति, समावेशिता, विदेशमा रहेका नेपालीको मताधिकार सहितका विषय पनि मागमा समेटेको छ।

बीबीसी न्यूज नेपाली