काेशी प्रदेशमा सयौँ पर्यटकीय गन्तव्यहरू रहेका छन् । कतिपय गन्तव्यहरू चर्चामा पनि आएका छैनन् ।
काेशी प्रदेश प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर)देखि नेपालकै होचो भूभाग झापाको केचनाकवल (५८ मिटर) काेशी प्रदेशमै पर्दछ । जसका कारण याे प्रदेश भौगोलिक विविधताले युक्त छ । यससँगै हावापानी र जैविक विविधताले पनि भरिएको छ । हिमालदेखि तराईसम्म फैलिएको यस प्रदेशमा सांस्कृतिक विविधता पनि पाइन्छ । मानिसहरूको जीवनशैली, संस्कार, सामाजिक मूल्य मान्यतामा पनि व्यापक भिन्नता पाउन सकिन्छ । त्यसैले काेशी प्रदेश सबै खालका पर्यटनको सम्भावना बोकेको प्रदेश हो ।
काेशी प्रदेशमा सयौँ पर्यटकीय गन्तव्यहरू रहेका छन् । कतिपय गन्तव्यहरू चर्चामा पनि आएका छैनन् । यस प्रदेशमा पर्यटनको अथाह सम्भावना छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न पछिल्लो समय खासै गाह्रो छैन । यस क्षेत्रका व्यवसायी, प्रदेश सरकार र स्थानीय तहले पर्यटन विकासका लागि प्याकेज बनाएर जान सके प्रदेशले मुलुकमै सबैभन्दा बढी पर्यटक भित्र्याउन सक्छ । इलाम, धनकुटा लगायत पहाडी जिल्ला कृषि पर्यटनमा अगाडि छन् भने ताप्लेजुङ, सुनसरी, खोटाङ लगायत जिल्ला धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । तेह्रथुम, सङ्खुवासभा, मोरङ लगायत जिल्ला जैविक विविधतामा धनी छन् ।
श्रीअन्तु डाँडा
पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य इलाम भन्ने बित्तिकै धेरैको मस्तिष्कमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । लस्करै मिलेका हरिया चिया बगान, बीचबीचमा धुपीसल्लाका रुख, बीचमा घुमाउरो पक्की बाटो अनि चिटिक्क परेका कटेजहरु । मनै लोभ्याउने इलाम, कसलाई जाऊँ नलाग्ला र ?
मान्छेलाई लोभ्याउने इलाममा चिया बगान सँगै अन्य धेरै स्थान छन् । त्यसमध्ये एक हो, इलामको सूर्योदय नगरपालिका-५ मा रहेको श्रीअन्तु डाँडा । श्रीअन्तु फिक्कल बजारबाट १३ किलोमिटर टाढा पर्छ ।
श्रीअन्तु डाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा अवस्थित छ। यो इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिका अन्तर्गत पर्दछ । श्रीअन्तु डाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यावसायिक र नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ। वि.सं. २०४३ मा यसलाई दिपेन्द्र शिखर भनी नामकरण गरिएको भए पनि पुरानै नाम श्रीअन्तु वा अन्तु डाँडा नामबाट नै यो डाँडा प्रसिद्ध छ।
इलामको यो श्री अन्तु धेरै कुराहरूले प्रख्यात छ । जहाँ स्वदेश तथा विदेशीबाट पर्यटकहरू अवलोकन गर्न पुग्छन्।
स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र बिहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त श्री अन्तुका प्रमुख विशेषताहरू हुन् ।
बिशेषगरी गर्मी याममा प्रयर्यटकहरू श्रीअन्तु पुग्ने गर्दछन् । चिसो हावा पानीका कारण गर्मी छल्न पूर्वी नेपालको तराई क्षेत्र, भारत लगायत अन्य देशबाट समेत पर्यटकहरू आउने गर्दछन् ।
नेपालको पर्यटन विकासमा इलामको श्रीअन्तुले पनि ठूलो योगदान दिँदै आएको छ । जसको प्रचार प्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा अझै सम्बन्धित निकाय र राज्यले ध्यान दिने हो भने यसले आन्तरिक तथा बाह्य पर्यटन विकासमा ठुलो फड्को मार्नेमा कुनै शङ्का छैन ।