Pin It

हलेसी महादेव

पूर्वकै प्रसिद्ध धार्मिकस्थलको रूपमा चिनिएको हलेसी महादेवको मन्दिर खोटाङमा पर्छ । हिन्दु, बौद्ध तथा किरातहरूको आस्थाको केन्द्रको रूपमा रहेको छ यो मन्दिर । बालाचतुर्दशी, रामनवमी र शिवरात्रिमा यहाँ ठूलो मेला लाग्छ । जिल्ला सदरमुकाम दिक्तेलदेखि ४० किलोमिटर पश्चिममा रहेको यो मन्दिर पुग्न सवारीसाधनको सुविधा छ । उदयपुरको कटारीबाट घुर्मीसम्म बस चल्छन् । त्यहाँबाट सुनकोशी हुँदै पैदल यात्रा गरेर हलेसी महादेव पुग्न सकिन्छ ।

सन्दकपुर

देखिन त सूर्य जहाँबाट पनि देखिन्छ तर केही ठाउँ यस्ता हुन्छन् जहाँको सूर्य देख्दा आकाश नै आफ्नो भएजस्तो लाग्छ । इलामको सन्दकपुर त्यस्तै थुम्को हो, जहाँ धपधप बलेको सूर्य आकाशमा होइन, हेर्नेको आँखामा उदाउँछ । इलाम बजारबाट ३६ किलोमिटरमाथि चढेपछि पुगिन्छ इलामको सबैभन्दा अग्लो डाँडो, सन्दकपुर । श्रीअन्तु, सिद्धिथुम्का र सन्दकपुर, यी तीन डाँडाले इलामलाई सूर्योदयको जिल्लाका रूपमा चिनाएका छन् ।

साबिक माइमझुवा गाविस ९ र मावु गाविस ८ को संगमस्थल सन्दकपुर अहिले सन्दकपुर गाउँपालिकामा पर्दछ । यही सन्दकपुर डाँडाकै नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । ३६३६ मिटरको उचाइमा नेपाल भारत सीमा क्षेत्रमा अवस्थित प्रसिद्ध ठाउँ हो सन्दकपुर । यहाँबाट कार्त्तिक देखि वैशाख सम्म सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यही मौसममा हिउँ समेत पर्ने र लामो समयसम्म रही रहन्छ । यहाँबाट सगरमाथा कञ्चनजङ्घा लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सन्दकपुर जान २ वटा बाटाहरू रहेका छन् । एउटा इलाम बजारबाट माइपोखरी देउराली माइमझुवा हुँदै एक दिनको पैदल यात्रामा पुग्न सकिन्छ भने अर्को फिक्कल, पशुपतिनगर हुँदै भारतीय भूभागबाट मानेभन्ज्याङ हुँदै ट्याक्सीमा चढेर सन्दकपुर पुग्न सकिन्छ ।

नेपालको पूर्वी सिमानामा पर्ने सन्दकपुरबाट नेपाल, भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटान गरी तीन देश देख्न सकिन्छ । छेउमा उभिएर हात अघि बढाउँदा कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु हिमाल आफ्नै हत्केलामा उभिएजस्तो लाग्छ। आइपुग्ने बाटोको कुरा अझै बेग्लै छ ।

माईपोखरी

इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरमा माइपोखरी अवस्थित छ । माइपोखरीमा रैथाने गलैंचे झ्याउ, रूख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छ । यस्तै ३०० भन्दा बढी प्रजातिका चरा पाइने विज्ञहरू बताउँछन् । २ हजार १२१ मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशय सहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरू खुलेका छन् । १ किलोमिटर टाढाको देउराली बजार पुगेर होटलमा बस्न सकिन्छ ।

कन्याम

चियाको पर्याय बनेको कन्याम वनभोज स्थलका लागि चर्चित छ । असोजदेखि वैशाखसम्म वनभोजका लागि मानिसहरू कन्याम आउने गर्छन् । कन्याममा सिजनमा शनिवार मात्र २०० भन्दा धेरै गाडीमा वनभोज टोली आउने गरेका छन् । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजिक पर्छ । खान–बस्नका लागि नजिकैको फिक्कल बजारमा होटल र लज पाइन्छ ।

पाथीभरा

पूर्वाञ्चलकै प्रसिद्ध तीर्थस्थल पाथीभरा ३ हजार ३७४ मिटर उचाइमा छ । सुकेटार विमानस्थलबाट १९ दशमलव २ किलोमिटरको दूरीमा रहेको पाथीभरा सदरमुकाम फुङलिङ बाट २७ किलोमिटर टाढा पर्छ । विराटनगरबाट सुकेटारसम्म पुग्न २ दिनको यात्रा तय गर्नुपर्ने हुन्छ । विराटनगरबाट इटहरी–बिर्तामोड हुँदै ताप्लेजुङ पुग्न ३४३ किलोमिटर यात्रा गर्नुपर्छ ।

वराह क्षेत्र

कोका नदी र कोशी नदीको सङ्गमस्थल सुनसरीको वराहक्षेत्र नगरपालिकामा पर्ने यो धार्मिक स्थल पूर्वकै सबैभन्दा पुरानो मानिन्छ । यहाँ इन्द्र, वराह, कोकाह, सूर्य, बद्री, मुक्तेश्वर लगायतका १० ओटा मन्दिर छन् ।

विजयपुर

धरान नगरपालिकामा पर्ने विजयपुर क्षेत्र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । यहाँ रहेका बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या लगायत मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्छ । यातायातको राम्रो पहुँच भएको र बजार क्षेत्र आसपासमा भएकाले यस क्षेत्रको यात्रा सुलभ मानिन्छ ।

सिद्धिथुम्का

पश्चिमी सिद्धिथुम्कावासी गत वर्षदेखि महोत्सव सञ्चालन गरेर पर्यटन विकासमा लागेका छन् । सदरमुकाम इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डा“डा सूर्योदय र सूर्यास्त तथा हिमशृङ्खला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न अब्बल छ ।

गजुरमुखी

पश्चिमी गजुरमुखी धार्मिक आस्थाका कारण महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट २१ माइल दूरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारबाट मङ्गलवारे हुँदै कच्ची सडकबाट गजुरमुखी पुग्न सकिन्छ । स्थानीयको चासोअनुसार नै पर्यटन उपसमिति मार्फत पूर्वाधार विकास, होटल व्यवस्थापनजस्ता क्षेत्रमा ५० लाख रुपैयाँको प्याकेज कार्यान्वयन भएको छ ।

केचनाकवल

केचनाकलन नेपालको सबैभन्दा होचो स्थल हो । झापाको साबिक केचना गाविस–३ मा यो स्थान पर्छ । जिससको तथ्याङ्क अनुसार समुद्री सतहबाट केचना ५८ मिटरको उचाइमा रहेको छ । यहाँ“ पुग्न विराटनगरबाट १२३ किलोमिटर यात्रा गर्नुपर्छ ।

किचकवध

महाभारत कालमा भीमले किचक वध गरेको ठाउँ, पुरातत्त्वको उत्खननका लागि प्रमुख स्थलको रूपमा रहेको किचकवध झापाको पृथ्वीनगरमा पर्छ । किंवदन्ती अनुसार महाभारत कालमा पाण्डवहरू द्रौपदी सहित गुप्तवास बसेका बेला किचक भन्ने राक्षसले द्रौपदीलाई व्यभिचारी दृष्टि लगायो । यो कुरा भीमसेनले थाहा पाएपछि द्रौपदीको वेशमा किचकलाई पर्खिएर बसेका भीमसेनले त्यहीँ वध गरे ।