Pin It

सभापाेखरी

सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं ५ मा पर्ने सभापोखरी धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण स्थल रहेको छ । समुद्री सतहदेखि चार हजार दुई सय ४० मिटरको उचाइमा रहेको सभापोखरीको लम्बाइ २०० मिटर र चौडाइ लगभग १०० मिटर रहेको छ ।

पृथ्वीमा दैत्यहरूको अत्याचार बढेपछि त्यसलाई रोक्नका लागि देवताहरू यही स्थानमा भेला भएर सभा गरेको हुनाले यस पोखरीको नाम सभापोखरी रहन गएको किंवदन्ती पाइन्छ । प्राचीन कालमा ८८ हजार ऋषिमुनिहरू राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास समेत रहेको छ ।

धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि अत्यन्त उपयुक्त ठाउँ सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । यस पोखरीमा नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । गर्मी महिनामा मात्र यो ठाउँमा पुग्न सकिन्छ ।
सङ्खुवासभा जिल्लाको नामकरण गर्दा आधार लिएको सभा खोलाको मुहान पनि सभापोखरी नै रहेको छ ।

वरिपरि अग्ला पहाडहरूले घेरेको पोखरीको बिचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताहरूले सभा गरेको जनविश्वास रहेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट ३र४ दिनको पैदलयात्रा पश्चात् उक्त ठाउँमा पुग्न सकिन्छ ।

प्राकृतिक तथा धार्मिक दुवै कोणमा महत्त्वपूर्ण सभापोखरी सभा र पोखरी मिलेर बनेको छ । समुद्र सतहबाट ४२४० मिटरको उचाइमा रहेको यो पोखरी लुम्बा सुम्बा हिमालको फेदमा रहेको छ ।

सङ्खुवासभाको गुफापोखरी हुँदै तीन दिनको पैदल यात्रामा पुग्न सकिने यो गन्तव्यको अत्यधिक प्रचार भए पनि पोखरी नजिकसम्म सहज सडक नभएकाले धेरै तीर्थयात्रुहरू तथा ट्रेकिङ पारखीहरू यहाँ पुग्न सकेका छैनन् ।

ह्यातुङ झरना

साबिक सम्दु र ईसिवु गाविसबीचमा रहेको यो झरना नेपालकै सबैभन्दा लामो मानिन्छ । यो झरनासम्म पुग्न धरानबाट वसन्तपुर हुँदै तेह्रथुमको सदरमुकाम म्याङ्लुङबाट १ दिनको पैदल हिँड्नुपर्छ । सदरमुकामबाट त्यहाँसम्म पुग्न हाल धुले सडक बनेको भए पनि सवारीसाधन चलिनसकेकाले पैदल यात्रा नै गर्नुपर्छ । यो झरनाको माथिबाट पानी खस्दा सप्तरङ्गी इन्द्रेणीको रमणीय दृश्य देखिन्छ ।