एन आर एन ए बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपाल
प्रश्तुत छ । बेल्जियमको राजधानी ब्रसेल्स बस्नुहुने गैर आवासिय नेपाली संघ (एन आर एन ए) बैल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपाल ज्युसंग देशको समसामयीक राजनैतिक परिस्थितिका बिषयमा परविर्तन खबरले गरेको कुराकानीको सार संक्षेप
परिवर्तन खबर : तपाईं कहिले र कसरी बेल्जिम पुग्नुभयो ? हाल त्यहाँ के गर्नुहुन्छ ?
लोकेन्द्र नेपाल : नेपालमा पनि मैले सामान्य व्यवसाय गर्थे । त्यो बेला द्धन्दको अवस्था थियो । नेपालको पठनपाठन देखि व्यापार व्यवसायको क्षेत्रमा द्धन्दको असर देखा पर्यो । अनि मेरो केहि साथिहरुसंग सम्पर्क भयो । म सन् २००१ मा जर्मन आए । त्यसपछि सन् २००४ मा बेल्जियम सानो देश, काम गर्न पनि सजिलो भएकोले त्यसपछि हालसम्म बेल्जियममै छु । अहिले आफ्नै होटल र रेष्टुरेण्ट चलाउँछु । बचेको समय सामाजिक संघसंस्था र कामलाई दिन्छु ।
परिवर्तन खबर :बेल्जियम र नेपालको आर्थिक बिकासको तुलना कसरी गर्नुहुन्छ ?
लोकेन्द्र नेपाल : बेल्जियम युरोपियन युनियन र नाटोको मुख्यालय रहेको देश हो । त्यसैले पनि यो देश युरोपका अन्य देशहरु भन्दा सम्बृद्ध छ । यहाँ कृषि उत्पादन देखि लिएर विभिन्न सामानहरु उत्पादन गर्ने कल कारखानाहरु छन् । प्रत्येक नागरिकलाई रोजगारीको अवसर छ । सरकारले सामाजिक सुरक्षा प्रदान गरेको छ । संसारभरका द्धन्द ग्रस्त देशहरुबाट प्रायः मानिसहरु बेल्जियम आएका छन । उनीहरु पनि सीप र क्षमता अनुसारको काममा संलग्न छन् । सरकारले स्थायी बसोबासका लागि अनुमति दिएका व्यक्तिहरुलाई सीपमूलक तालीम दिन्छ । तालीम पछि रोजगारी दिन्छ । कर लिन्छ । फेरी त्यहि कर सामाजिक सुरक्षा स्वरुप कामदारलाई दिन्छ । भ्रष्टाचार प्रायः शुन्य जस्तै छ । सरकार नागरिक प्रति उत्तरदायी छ । उद्योग व्यवसाय गर्न सरकारले प्रोत्साहन गर्छ । जमिन खाली राखिदैन । यहाँ पनि किसानहरु छन् । कृषिको काममा मेसिनको प्रयोग गरिन्छ । े यो देशमा फलफुल, तरकारी, मकै, आलु, कोदो उत्पादन हुन्छ । मासु र दुग्ध उत्पादनमा पनि बेल्जियम आत्मनिर्भर जस्तै छ । उत्पादनको २ देखि ९ प्रतिशत बेल्जियममै खपत हुन्छ । खपतले पुंजी पलायन हुनबाट रोकेको छ । तथ्याङ्कले खेतिपाती गर्ने जमिनको संख्या बढेको देखाउँछ । तर नेपालमा यस्तो देखिदैन । नेपाल र नेपालीको सम्बृद्धिका लागि कृषि र पर्यटन क्षेत्रको विकास दु्रत गतिमा गर्नु पर्ने भएता पनि सरकार त्यसरी काम गरेको देखिदैन । उद्योग व्यवसाय जिर्ण अवस्थामा छन् । नेपालमा सम्बृद्धिका आधारहरु प्राय जसो कमजोर देखिन्छ । यसले देशको अर्थतन्त्रलाई कमजोर बनाएको देखिन्छ । नेपाल र बेल्जियमको आर्थिक विकासमा जमिन आसमानको भिन्नता छ ।
परिवर्तन खबर : भौगोलिक, सामाजिक, र साँस्कृतिक हिसाबले यी दुई मुलुक को तुलना कसरी गर्न सकिन्छ ?
लोकेन्द्र नेपाल: नेपालको भूगोलमा हिमाल, पहाड र तराई छ । यस्तो यो विश्वका अन्य देशहरुमा पाइदैन । गर्मी महिनामा पनि हिमाल तिर लाग्यो भने हिउँको चिसो अनुभूति गर्न पाइन्छ । कृषि उत्पादनका लागि तराईका विशाल फाँटहरु छन् । हिमाली र पहाडी क्षेत्रमा जडिबुटी खेती गर्ने र त्यसका लागि नेपालमै उद्योग खोलेर रोगजारी दिन सकिन्छ । अर्थात समुचित जमिनको प्रयोग र सोहि अनुसारको उत्पादन र विक्रिको वातावरण सरकारले बनाउनु पर्छ । भूगोलको हिसावले बेल्जियमको हावापानी चिसो छ । तीन महिना गर्मी हुन्छ भने अरु समय जाडो । बेल्जियममा समथल भाग धेरै छ । तर पनि मौषम अनुसारको बाली र उत्पादन लिने चलन छ । नेपाल भौगोलिक, सामाजिक र साँस्कृतिक हिसावले धनी छ । नेपालको भूगोल, सामाजिक परिबेश, सस्कृतिबाट लालायीत भएर ५५ पटक नेपाल भ्रमण गरेका व्यक्तिहरु यहि समाजमा छन् । बेल्जियमको पनि आफ्नै सामाजिक र साँस्कृतिक मान्यताहरु छन । सामाजिक सद्भाव, आपसी मेलमिलाप र संस्कृतिमा त नेपाल देश संसारकै धनी छ नि त ।
परिवर्तन खबर : नेपाल छाडेर बेल्जियममा बस्नु पर्दा नेपाल सम्झेर कस्तो महसुस गर्नुहुन्छ ।
लोकेन्द्र नेपाल: जन्म देश हो । बाल्यकाल र थोरै युवा अवस्था नेपालमा बित्यो । त्यसपछिको समय अहिले यतै बित्दै छ । नेपालमा परिवार, आफन्तहरु हुनुहुन्छ । उहाँहरुले पनि औषतमा सम्मानित जीवन यापन गरिरहनु भएको छ । यो देख्दा खुसी लाग्छ । चाँडबाँडहरु आउँदा, सबै जना सगोलमा बसेर रमाइलो गर्दा म आफुलाई त्यहाँ पाउदैन र कता कता मन कटक्क खान्छ । यताको तुलनामा सामाजिक र पारिवारिक जीवन नेपालमा औधी राम्रो छ । अझै नेपाल गएर केहि गर्न सकिन्छ कि भन्ने भावना मनमा आँउछ । मिलेर बसेको समाज, हाम्रा रिति रिवाज, आफु हुर्के बढेको डाँडाँपाखा, आफन्त, साथिभाईहरुको याद आउँछ । नेपाललाई धेरै सम्झिन्छु ।
परिवर्तन खबर : नेपालीले आर्थिक र सामाजिक रुपले नेपालमै रहन नेपाल र नेपालीले के के गर्नुपर्ला ?
लोकेन्द्र नेपाल: हेर्नुस, सबभन्दा पहिले देशको विकासका लागि राजनैतिक स्थायित्व, इमान्दारीता, विधिको शासन, सहमतीय राजनीति, इमान्दार नेतृत्व र लगानी मैत्ती वातावरण चाहिन्छ । नेपालमा यो कतै पनि देखिदैन । नेपालमा त उल्टो काम भै रहेको छ । देश विकासका लागि चाहिने युवा शक्ति पलायन भैराका छन् । कलकारखाना बन्द छन् । लगानी मैत्री वातावरण छैन । खाद्यान्ह देखि सबै कुरा बाहिरबाट ल्याउनु पर्ने । यीनिहरुलाई अवसर र प्रयोगको योजना कतै देखिदैन । यस्तो पनि हुन्छ ? प्रशासनिक काम कागजको आधारमा हैन, चिनाजानीको आधारमा हुन्छ । त्यसमा पनि हामी बाहिर बसेर आको भन्ने बित्तिकै मुख खोलेर बस्छन । सामान्य काम गर्न हप्तौ लाग्छ । यो सब कुराको अन्त्य भयो भने देश विकासको सम्भावना छ । समय लाग्ला । नेपालमा बस्ने र काम गर्न पाउने वातावरण बनाउने मुख्य जिम्मेवार भनेको सरकार हो । राज्य हो । सरकार रोजगारी दिन सक्दैन । पढाई अनुसारको जागीर दिन सक्दैन । साँझ विहान खाने र परिवारलाई सुखका साथ बाँच्ने तलव दिदैन । पढ्दा लगानी करोडौको हुन्छ । तर जागीर खाँदा स्वर्स फोर्स चाहिने । यो सबैको अन्त्य हुनु पर्छ । पहिले आर्थिक सम्वृद्धि भयो भने त्यसपछि सामाजिक हुन्छ । अव सबैले सोच्ने बेला आईसक्यो नेपालमा ।
परिवर्तन खबर : नेपालको अहिलेको राजनैतिक ब्यबस्था र सरकारबाट देशको उन्नति प्रगतीको अपेक्षा गर्न सकिएला ? सकिन्छ भने के कसरी सकिँदैन भने किन ?
लोकेन्द्र नेपाल: संभव छ । किन छैन । तर यसका लागि सरकार बोलीले हैन व्यवहारले गंभीर हुनुपर्यो । मेरो बिचारमा देशको उन्नती के कसरी गर्न सकिन्छ भन्नेबारे नेपालमा व्यापक बहस र सरकारको प्रबृतिको पुनराबलोकन हुनु पर्यो । देश विकासका लागि नेतृत्व इमान्दार हुनु पर्यो । बिज्ञहरुको राय सुझाव लिनु पर्यो । देशको जनशक्तिको पहिचान हुनु पर्यो । युवा शक्तिलाई देशको विकासमा समाहित गराउने योजना हुनु पर्यो । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्यो । लगानीकर्ताहरुको पूंजी संरक्षण हुनु पर्यो । विकास निर्माणका काममा ढिलासुस्ती हुनु भएन । त्यस्तै अर्को महत्वपूर्ण कुरा के हो भने नेपालको विकासका लागि प्रशासनिक संरचना र राजनैतिक सिस्टमको पनि समिक्षा गर्न आवश्यक छ । अनावश्यक खर्च कटौती गरेर कल कारखाना र रोजगार दिने तिर सोच्नु पर्यो ।
परिवर्तन खबर : नेपालमा अब के भयो भने बिदेशिएका एक करोड युवालाई स्थाई रुपमा फर्काउन सकिन्छ ?
लोकेन्द्र नेपाल: युवा कुनै पनि देश विकासको मेरुदण्ड हो । यीनै नेपालबाट विदेशीभूमी टेकेका युवाहरुले खाडी, अमेरिका, अस्ट्रेलिया र युरोप बनाए । नेपालबाट बर्षेनी लाखौ युवा किन पलायन भए ? यो बिषयमा कुनै अध्ययन अनुसन्धान भएको देखिदैन । उनीहरुको अपेक्षा के हो त्यो सरकारलाई थाहा छैन । युवा मन्त्रालय छ तर बिदेशीयका युवाहरुलाई उनले आर्जन गरेको सीप र पुंजी प्रवर्धनका लागि मन्त्रालयको कुनै योजना छैन । तसर्थ, रोजगारीको सृजना, कृषि र पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्न सीपमूलक तालीम र लगानी, सीप अनुसार उत्पादनमूलक कामका लागि सहज तरीकाले ऋण पाउने र व्यवसाय गर्ने वातावरण सरकारले मिलाउनु पर्छ अर्को कुरा अहिलेको आवश्यकता अनुसार युवाहरुको दैनिक घर खर्च चल्न सक्ने आम्दानी र उनीहरुको गाँस, बास, शिक्षा, स्वास्थ्य र बस्ने घर सहज रुपमा प्राप्त गर्न सकिने सुनिश्चितताको व्यवस्था गर्न सके युवा वाहिर किन जान्छन ? सीप अनुसारको काम र काम अनुसारको दाम अर्थात तलब (पैसा) आउनु पर्यो । यस्तो भएको अवस्थामा फर्किने वातावरण पनि बन्न सक्छ । त्यसैगरी युवाहरुमा पनि काम गर्ने बानीको विकास हुनु पर्यो । विदेश आएपछि जस्तो पनि काम गर्ने र नेपालमा कामै नगर्ने पनि हुन भएन । त्यसैले युवाहरुको सोचमा पनि परिबर्तन हुनु पर्छ ।
परिवर्तन खबर : नेपालको बिकासमा गैरआवासिय नेपालीहरुको भुमिका कस्तो हुनुपर्छ ?
लोकेन्द्र नेपाल: प्रवासमा गैरआवासीय नेपाली संघ सबै प्रवासी नेपालीहरुको अभिभावक संस्था हो । यो भित्र धनी से धनी देखि लिएर सामान्य काम गर्ने कामदारसम्म सदस्य छन् तर हामी गैरआवासीय नेपाली भन्ने बित्तिकै सबै धनी, नेपालमा लगानी गर्न सक्ने क्षमता भएका आदि इत्यादि रुपमा बुझ्छौ । त्यसो हैन । गैरआवासीय नेपालीहरुमा पनि बर्ग छ । त्यस्तो बर्गमा हिजो जुन बर्ग बिदेशी भूमीमा आयो, उद्योग व्यवसाय गर्यो, मनग्य पैसा कमायो । त्यस्ता मानिसहरुको संख्या धेरै नै कम छ र त्यस्ता मानिसहरुले नेपालमा लगानी गर्न सक्ने अवस्था र सम्भावना धेरै छ । तर नेपालमा आर्थिक लगानी मात्र भन्दा पनि विदेशीयका नेपालीहरुको सीप अनुभव र थोरै मात्रामा पुंजीलाई समेत लगानी वा परिचालन गर्न सके नेपालको विकासमा ठुलो सहयोग पुग्ने देखिन्छ । यसका लागि केहि कानुनी अड्चनहरु छन । त्यसैकारणले पनि गैरआवासीय नेपाली संघले नागरिकताको कुरालाई मुख्य रुपले उठायो । किनकी गैरआवासीय नेपाली नागरिकता भयो भने मात्र नेपालमा लगानी गर्ने र लगानी सुरक्षित गर्न सक्ने अवस्था हुन्छ । अहिले एनआरएनए करिब ८० भन्दा बढि देशहरुमा संगठित छ । सरकारले एनआरएनएसंग समन्वय गरेर सहकार्य गर्न सके र सुशासन स्थापित गर्न सके लगानीका लागि भूमिका खेल्न सक्ने र देश विकासमा सहयोग गर्न सक्ने संभावना छ ।
परिवर्तन खबर : गैरआवासिय नेपालीहरुको सुरक्षा र सम्मानका निम्ति नेपाल सरकारको भुमिका के हुनु पर्छ ?
लोकेन्द्र नेपाल: नेपालमा गैरआवासीय नेपालीहरुको मुख्य सुरक्षा भनेको सम्पत्तिको रक्षा हो । धेरैले बिदेशी भूमीमा पसिना बगाएर नेपालमा ससानो सम्पत्ति जोड्नु भएको छ । धेरैको पैत्रिक सम्पत्ति पनि छ । तर, कतिपयले बाध्यताले विदेशी नागरिकता लिनु भएको छ । हामी नेपालबाट संसारको जुनसुकै कुनामा आए पनि “एक पटकको नेपाली सधैका लागि नेपाली”को रुपमा स्थापित हुन चाहान्छौ । कतियपय प्रवासी नेपालीहरुले व्यवसायमा पनि लगानी गर्नु भएको छ । त्यसैले सम्पत्ति र लगानीको सुरक्षा र सम्मानका लागि माथि भनेझै कानुन निर्माण र निर्माण गरिएका कानुनको अक्षरः कायान्वयन भएमा हाम्रो सम्मान पनि हुन्छ जस्तो लाग्छ ।
परिवर्तन खबर : अन्त्यमा नेपाल सरकार र नेपालमै रहेका नेपालीलाई तपाइको केही सल्लाह सुझाब छ कि ?
लोकेन्द्र नेपाल: धेरै कुरा माथि भनि सकियो । हामी प्रवासी नेपालीहरुले प्रवासबाट नेपालको अवस्थालाई नजिकबाट हेरिरहेका हुन्छौ । यता र उताको तुलना गर्छौ । तर नेपालमा सुशासन, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, छिटो छरितो काम, इमानदारीता र जवाफदेहिता छैन । नेपालमा उत्पादित दक्ष जनशक्तिको पहिचान र परिचालन गर्न सकेको छैन । हाम्रा प्राकृतिक श्रोत र साधनहरुको समुचित प्रयोग हुनसकेको छैन । यी विविध कुराको पहिचान गरी नेपाललाई आत्म निर्भर गराउनु जरुरी छ । शिक्षा, स्वास्थ्य र कानुनी सेवालाई निशुल्क बनाउन जरुरी छ । पछिल्लो समयमा नेपालका प्रायः युवा पुस्ता विदेश आउन चाहान्छ । विदेश आउँदा दशाँै लाख लगानी गर्नु हुन्छ । बिदेशमा काम गर्न सजिलो छैन । यहाँ बाँच्नका लागि जस्तो पनि काम गर्नु पर्ने अवस्था छ । काम पाएता पनि पैसा बचाउन सक्ने अवस्था छैन । यता पनि महंगी छ । खर्च छ । त्यसैले बिदेशमा आउँदा गर्न सक्ने लगानीलाई नेपालमा लगानी गरेर सानो तिनै भए पनि व्यवसाय गरौं । कमाउ अनि रमाउ । पारिवारिक वातावरणमा बसौ । यसमै आनन्द छ । यी कुरालाई पनि मनन गर्न सुझाब दिन चाहान्छु । धन्यबाद ।