Pin It

तस्बिरको क्याप्शन,भुटानका राजालाई काठमाण्डूमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन्
६ डिसेम्बर २०२४
भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले शुक्रवार नेपाल भ्रमणमा आएका छन्।
भ्रमण निजी भएको र काठमाण्डूमा केवल तीनदेखि चार घन्टा मात्रै रहने बताइएको छ।
भारत भ्रमणमा आएका उनी भुटान फर्किने क्रममा 'ट्रान्जिट भिजिट' का रूपमा काठमाण्डूमा अवतरण गरेको बताइएको छ।

"उहाँहरूले काठमाण्डूका बौद्ध तीर्थस्थलहरूको भ्रमण गर्नुहुने छ। उहाँहरूका लागि गाडी, सुरक्षा व्यवस्था र स्वागतका लागि हामीले कोअर्डिनेट गर्ने काम गरेका छौँ," परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुभाङ्ग पराजुलीले बीबीसीसँगको सङ्क्षिप्त कुराकानीमा भने।
उनको यो भ्रमण राजनीतिक सामाजिकभन्दा पनि "धार्मिक र नितान्त व्यक्तिगत" भएको बताइएको छ।
तीनचार घण्टाको भ्रमणमा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको पनि बताइएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भुटानी राजालाई विमानस्थलमा स्वागत गरिन्।

नेपालका पूर्वराजाले भेट्लान्?

तस्बिरको क्याप्शन,केही महिनाअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटानका राजाको निम्तोमा थिम्पु गएको बताइएको थियो
गत असोजमा दशैँको घटस्थापनाका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका केही सदस्यहरूसहित भुटानको भ्रमण गरेका थिए।
उक्त भ्रमणका लागि भुटानका राजा जिग्मे खेसर-नाम्गेल वाङचुकले नै पूर्वराजपरिवारलाई थिम्पु भ्रमणको निम्तो दिएको शाहका संवाद सचिव फणिराज पाठकले बीबीसीलाई बताएका थिए।
त्यति बेला सामाजिक सञ्चालहरूमा सार्वजनिक भएका तस्बिरहरूमा शाहको टोलीलाई भुटानी राजकुमारीले विमानस्थलमै पुगेर स्वागत गरेको देखिएको थियो।
ती तस्बिरहरूमा शाहलाई लामो रातो कार्पेट ओछ्याएर स्वागत गरिएको पनि ती तस्बिरहरूमा देख्न सकिन्थ्यो। भुटानले नेपालका पूर्वराजालाई ठूलो सम्मान दिएको भन्ने विषयमा सामाजिक सञ्जालहरूमा पनि चर्चा भएको थियो।

तस्बिर स्रोत,Reuters
तस्बिरको क्याप्शन,भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा

त्यसरी भुटानमा स्वागत पाएका शाहले अहिले भुटानका राजा वाङचुकले काठमाण्डूको भ्रमण गर्दा उनलाई भेट्दै छन्?
जबाफमा पाठकले भने, "मलाई त्यसबारे जानकारी छैन। तर अहिले उहाँहरू (ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यहरू) भ्रमणमा रहनुभएकोले त्यस्तो भेट्ने कार्यक्रम केही छ जस्तो लाग्दैन।"
शाह गत सोमवार पश्चिम नेपालका जिल्लाहरूको भ्रमणका लागि गएका थिए।
"उहाँहरूले नेपालगञ्ज, दाङ, बर्दिया, महेन्द्रनगर भ्रमण गर्ने कार्यक्रम रहेको छ र उहाँहरूको यो कार्यक्रम केही लामै छ," शाहका पाठकले भने।
भारतको औपचारिक भ्रमणमा आएका भुटानका राजारानीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसँग बिहीवार भेटवार्ता गरेका थिए।