सोमबार, चैत ४, २०८१
काठमाडौं– मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको ३१ औं महानिरिक्षक (आईजी)मा दीपक थापालाई नियुक्त गरेको छ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई नियुक्त गरेको हो।
उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत रहेका थिए।
थापाले संगठनलाई चलायमान बनाउने प्रतिक्रिया दिएका छन्।
३०औं आईजी बसन्तबहादुर कुँवरको सोमबार रातीदेखि ३० बर्षे सेवा अवधि सकिएपछि नयाँ आईजी नियुक्त भएका हुन्।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले यस्तो निर्णय लिएको थियो।
नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरसँगै आठ जना वरिष्ठ अधिकृतहरू पनि बिदा भएका छन्।
सोमबार मध्यरातिदेखि ३० वर्षे सेवा अवधिका कारण आइजिपी कुँवर अवकासमा जान लागेका हुन्।
त्यसअघि नै मन्त्रिपरिषदको बैठकले एआइजी दीपक थापालाई ३१औं आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ।
निर्णय भएसँगै प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच आइजिपी कुँवर र अन्य ८ जना वरिष्ठ अधिकृतहरूको बिदाइ गरिएको हो।
एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराईलाई बिदा गरिएको छ। त्यस्तै डिआइजी ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्दको पनि बिदाइ गरिएको हो।
कुँवरले नवनियुक्त आइजिपी थापालाई सफल कार्यकालको शुभकामना समेत दिए।
समारोहमा कुँवरले आफ्नो कार्यकालमा सम्पादन भएका कार्यहरू एवं प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त आइजिपी थापालाई हस्तान्तरण गरेका थिए।