Pin It

कोशीटप्पु

कोशीटप्पु विराटनगरबाट ५० किलोमिटर पश्चिममा पर्छ । कोशीटप्पुलाई चराको स्वर्ग पनि भनिन्छ । कोशीटप्पुमा ५२७ प्रजातिका चरा पाइन्छन् । विश्वमै दुर्लभ मानिने चराहरूको वासस्थान पनि कोशीटप्पु हो । कोशीटप्पुलाई अर्नाको राजधानी पनि भनिन्छ । कोशीटप्पुमा विश्वमै दुर्लभ मानिने बबुलिस जातको अर्ना पाइन्छ । अहिले कोशीटप्पुमा ४५० ओटा भन्दा बढी अर्ना छन् । कोशीटप्पुमा होमस्टे, रिसोर्ट र होटेलहरू छन् ।

भेडेटार

भेडेटार पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार मानिन्छ । समुन्द्री सतहबाट १ हजार ४२० मिटर उचाइमा रहेको भेडेटार बजार धरानबाट १६ किलोमिटर उत्तरमा अवस्थित छ । छिनमै कुहिरो लाग्ने छिनमै घाम लाग्ने भेडेटार पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

भेडेटार प्रदेश नम्बर १ अन्तर्गत सुनसरी र धनकुटा जिल्लामा पर्ने एक सुन्दर पर्यटकीय बजार हो । यो बजार धरानको साँगुरीगढी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित छ । भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ । यो ठाउँ धरान उपमहानगरपालिकाको जिरो प्वाइन्टबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाइमा विराजमान छ । पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवम् हिमाली भेगको सुन्दरता हेर्न भेडेटार पुग्ने गर्दछन् । अझ भेडेटारको भ्यू टावर अर्थात् चार्ल्सप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्न सकिन्छ ।

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो । यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी.दूरीमा रहेको छ । भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणाधीन सडक पूर्वतर्फ गएको छ भने धरानको विष्णुपादुका, आहाले हुँदै वराहक्षेत्र जाने निर्माणाधीन सडक पश्चिम तर्फ गएको छ । उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ । यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तराई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन् ।

भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ । २०३८ सालमा बेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुँदा यस डाँडालाई चार्ल्स प्वाइन्ट नामकरण गरिएको हो । चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिँढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ ।

भेडेटारमा पिकनिक तथा गर्मी छल्ने तराई तथा भारतीय पर्यटकहरूको अत्यधिक आवतजावतले रौनक भरेको छ । यहाँ पहाडी मौसम लगायत अर्ग्यानिक फलफूल तथा तरकारी एवम् स्थानीय परिकारहरू पस्किने भएको हुँदा सबैको आकर्षणको केन्द्र बनेको छ। यातायातको यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्त्वको स्थानको रूपमा अझ विकसित हुँदै जाने सम्भावना रहेको छ ।