Pin It

गुफापोखरी

धनकुटाबाट करिब ५० किलोमिटर कालोपत्रे सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहाँबाट उत्तर देउरालीसम्मको ५ किमी कच्ची सडकको यात्रापछि करिब ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रा गरेपछि गुफापोखरी पुगिन्छ । मूलतः यहाँ विभिन्न प्रजातिका गुराँस तथा अन्य जैविक विविधता अवलोकन गर्न जानेहरू हुन्छन् । सङ्खुवासभाको नुनढाकी–९ मा गरेको गुफापोखरी समुद्री सतहबाट २ हजार ८९० मिटर उचाइमा पर्छ ।

तीनजुरे-मिल्के-जलजले

 

‘गुराँस’को राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले क्षेत्र अन्तर्गत तेह्रथुमको तीनजुरे, सङ्खुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ । यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रूपमा समेत चिनिन्छ । टिएमजे क्षेत्रभित्र गुराँस बाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् ।

यहाँका उच्च भागहरूमा चौकी, गुफा, मङ्गलवारे, चाँगे, सम्दु, साँघु जस्ता साना–ठुला बस्तीहरू रहेका छन् । संरक्षित क्षेत्रको रूपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङनाम, सोल्मा, जिरिखिम्ती र आम्बुङ गाउँ तोकिएका छन् । सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा सङ्खुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला र सभापोखरी गाउँहरू पर्दछन् ।

गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका १३ वटा स्थानीय तह अर्थात् साबिकका २५ वटा गाविसमा फैलिएको छ । पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्याङ्क छ ।

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करिब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ । यहाँ गुराँस फुल्दा पर्यटकको भीड लाग्छ ।

पर्यटकीय सम्भावना प्रवर्द्धन

धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण यो क्षेत्र प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास भइरहेको छ । यस क्षेत्र हुँदै कञ्चनजङ्घा र मकालु हिमाल भ्रमण गर्ने, तमोर नदीमा र्या्फ्टिङ गर्ने र टिएमजे क्षेत्रमा घुम्न आउनेको सङ्ख्या पनि उच्च छ । उनीहरूलाई यस क्षेत्रको महत्त्वबारे दर्साउन पर्यटन सूचना केन्द्रसँगै सङ्ग्रहालय पनि स्थापना गरिएको छ । सङ्ग्रहालयमा यो क्षेत्रको ऐतिहासिक पहिचान, लोक संस्कृति तथा परम्परा झल्किने वस्तुहरू राखिएको छ ।

तीनजुरे मिल्के जलजले पर्यटन प्रवर्द्धन केन्द्रले तीनजुरे मिल्के जलजले क्षेत्रको गुफा बजारमा पहिलो पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमको रूपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै ठाउँबाट धेरै जानकारी प्रदान गर्न पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । स्थानीय युवाहरूको पहलमा गठन भएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवर्द्धन केन्द्रले नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आर्थिक सहयोगमा सूचना केन्द्र स्थापना गरेको हो ।

जैविक विविधता

टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तु लगायतको संरक्षण गर्न स्थानीय स्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुर लगायत जडीबुटीहरू पाइने गरेका छन् ।

अहिले यो क्षेत्रमा चिराइतोको भने व्यावसायिक खेती समेत भइरहेको छ । बाँकी जडीबुटीहरूको खेतीको सम्भावना भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । टिएमजे क्षेत्रमा ३३ वटा भन्दा बढी पोखरी रहेका छन् । तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरी लगायतका पोखरीहरू चर्चित छन् ।

संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रूपमा रूख कटान र जडीबुटी सङ्कलन हुँदै आएको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् ।

विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन्धनको जोहो गर्न धमाधम रुख काटिरहेका छन् । खाना पकाउन र आगो ताप्न सरकारले स्थानीय बासिन्दालाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने देखिन्छ । यहाँ बसोबास गर्ने सर्वसाधारणको इन्धनको स्रोत गुराँसको दाउरा नै हो ।

बाह्रै महिना चिसो र ठण्डा हुने भएकाले आगो ताप्न समेत दाउरा नै प्रयोगमा ल्याइन्छ । माथिल्लो क्षेत्रमा छुर्पीको व्यवसाय अत्यधिक हुने गरेको र गुराँसको काँचो दाउराले छुर्पी सुकाउँदा राम्रो रङ बस्ने भएकाले पनि गुराँसे वन फँडानी बढेको छ ।

विराटनगरबाट उत्तरतर्फ धरान हुँदै १३० किलोमिटर यात्रापछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । यो बजारको शिरमा अवस्थित यो क्षेत्रको भ्रमणका लागि पैदल यात्रा तय गर्नुपर्छ ।

तीनजुरे, पाँचपोखरी, चौकी, मङ्गलवारे, गुफाबजार, मिल्के डा“डासम्मको पैदलयात्रा गर्नु रमाइलो मानिन्छ । यहाँ“ आएका पर्यटकका लागि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मङ्गलवारे र गुफाबजारमा वास बस्न र खानाका लागि होटलको व्यवस्था छ । वसन्तपुर, चौकी र गुफा बजारमा प्रहरी चौकी रहेकाले सुरक्षाको समेत राम्रो प्रबन्ध छ ।