
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजावादीहरुलाई धन्यवाद दिएका छन । उनले कसैले फोहोर गर्छन् र जरिबाना तिराउँला भनेर महानगर नबसेको बताउँदै राप्रपा अर्थात राजावादीहरुलाई धन्यवाद दिएका हुन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।
राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ । भनेर लेखेका छन । मङ्गलबार (आज) राप्रपाले काठमाडौंको बल्खुमा खबरदारीसभा गरेको थियो। सभा सकिएपछि उसले आफैँले सफा गरेको थियो । यसपछि मेयर शाहले धन्यवाद भनेका हुन । राप्रपाका नेता कार्यकर्ताहरुले आमसभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन । राप्रपाले आज बल्खुमा आयोजना गरेको खबरदारी सभा सकिएपछि नेता कार्यकर्ता र स्वयंमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेका थिए ।
यस अघि मञ्चबाटै उपस्थितहरुलाई फोहोर नगर्न आग्रह गरिएको थियो । काठमाडौं महानगरपालिकाले सडक फोहोर गरेवापत जरिवाना तिराउन सक्ने भन्दै उनीहरु स्वयमले सडक सफा गरेका हुन । यसअघि (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बालेनलाई धेरै हिरो भएर पत्र नकाट्न चेतावनी दिएका थिए । भाषण सकेर हिडिसकेका लिङ्देनले एउटा सूचना दिन छुटेछ भन्दै माइकअघि आएर बालेनलाई धेरै हिरो नहुन भनेका थिए । उनले भने, ‘बालेनजी लाई आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु । हाम्रो साथीहरुलाई आफैँ सफा गरेर जान म आग्रह गर्न चाहन्छु ।
यहाँ केही पनि फोहोर रहनेवाला छैन है । र पत्रकार साथीहरुले, नागरिक समाजले पनि अनुगमन गरिदिनुहोला है । भोलि फोहोर गरेवापत भनेर चिठी नआओस् ।’भनेर भनेका थिए । महानगरले यसअघि पनि राप्रपालाई एक लाख जरिबाना तिराएको थियो । महानगरपालिकाले पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाएको थियो । महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड र त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्याएको र जथाभावी फोहोर फैलाएको जनाएको थियो । यसअघि, गत मंसिर ७ मा दरबार मार्गमा नेकपा एमालेको जागरणसभामा पनि फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिबानाको पुर्जी थमाएको थियो।