झापाको कनकाई- ३ मा गौहत्यापछिको चर्किएको आन्दोलन अराजक बनेपछि गएराति कोटीहोम क्षेत्र तनावग्रस्त बन्यो । हिजो साँझ सुरुङ्गामा साम्य भइसकेको आन्दोलनलाई आन्दोलनकारीहरूले राति कोटी होममा पुनः चर्काउँदा स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै ७ सेल अश्रुग्याँस प्रहार गरेको छ ।

गाईलाई काटेर खाएको घटनापछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर मृत गाईलाई घटनास्थलनजिकै गाड्ने तयारी भइरहेको थियो । तर, गाईधनी लीलाप्रसाद सिलवालको जग्गामै लगेर गाड्ने भन्दै मृत गाईलाई हात्ती गाडीमा हालेर सुरुङ्गा बजारमा आन्दोलन शुरु गरिएको थियो । गौ बंश संरक्षणका केन्द्रीय अध्यक्ष एवं गोलोक गोवर्धन गौशाला सतासीधामका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा अर्जुनधारा जलेश्वर धामबाट आएका ३०÷३५ जना धर्मगुरु र स्थानीय गरी करिब २५० जनाको सङ्ख्यामा भेला जम्मा भई “गौ हत्या बन्द गर, हत्यारालाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर, नेपाल सरकार मुर्दावाद“ जस्ता नाराहरू लगाएर विरोध प्रदर्शन गरेका थिए । मृत गाईलाई सुरुङ्गा चोकस्थित पूर्वपश्चिम राजमार्गमा ल्याई साँझ ५ः४० देखि ६ः१५ बजेसम्म चक्काजाम गरेका थिए । त्यसपछि प्रहरीले आन्दोलनकारीलाई सम्झाई बुझाई चक्काजाम खुलाएको थियो ।

Comment