१ माघ, काठमाडौं । आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । १५ जना विदेशी यात्रु सवार थिए ।

विमान अन्तिम पटक १०ः५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पर्कमा आएको समेत यतीले जनाएको छ । थप विवरण क्रमशः सार्वजनिक गर्दै जाने समेत कम्पनीको भनाइ छ । यात्रुको विवरण समेत सार्वजनिक भएको छ । यात्रुको अवस्था बारे भने अझै सार्वजनिक भएको छैन ।

Comment

१ माघ, काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

अनलाइनखबरलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् 

Comment

१ माघ, काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतीको यसै जहाजले डेमो उडान गरेको थियो ।

आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो ।

जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ ।

Comment

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ ।

‘प्रधानमन्त्री आफैं उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिंड्नुभएको छ । उहाँले त्यहीं बसेर घटनाको जानकारी लिनुहुन्छ’, सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् ।

गृहमन्त्री रवि लामिछाने पनि विमानस्थल पुगेका छन् ।

Comment

काठमाडौँ । काठमाडौंबाट यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।

Comment