१८ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्ष अघि दुईपटक गरेर नेपाललाई करिब ८५ अर्ब रुपैयाँबराबर अनुदान दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भने चीनले २ अर्ब ७० करोड रुपैयाँ नगद सहयोग दिने सम्झौतामा हस्ताक्षर गर्‍यो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २०१९ मा गरेको चीन भ्रमणका क्रममा चीनले १ अर्ब चिनियाँ युआन अर्थात करिब १९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । यो रकम दुवै देश सहमत भएका जीवनस्तर सुधार, विपदपछिको पुनर्निर्माणलगायत परियोजनामा खर्च गर्ने दुई देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

त्यसलगत्तै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको क्रममा उनले साढे ३ अर्ब चिनियाँ युआन अर्थात करिब साढे ६५ अर्ब रुपैयाँ अनुदान नेपाललाई उपलब्ध गराउने घोषणा गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटको अवसरमा उनले २ वर्षभित्र उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।

ती दुवै घोषणाअनुरुपको अनुदानमध्ये अहिलेसम्म एक पैसा पनि नेपालमा प्राप्त हुन नसकेको अर्थ मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पनि राष्ट्रपति सी जिनपिङले ५० करोड चिनियाँ युआन अर्थात् करिब ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । अहिले प्रतिबद्धता गरेको रकमसमेत जोड्दा चीनबाट नेपालले पाउनुपर्ने अनुदान रकम ९३ अर्ब रुपैयाँ पुगेको छ ।

Comment