
४ भदौ । विराटनगर । कोशी प्रदेशमा मन्त्रालय फुटाएर ११ वटा बनाउने तयारी भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष तहमा भएको सहमति अनुसार कोशीमा ९ वटा मन्त्रालयबाट थपेर ११ वटा बनाउने तयारी भएको दुबै दलका नेताहरुले बताएका छन् ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर शहरी विकास मन्त्रालय बनाउने तयारी छ । उद्योग कृषि र सहकारी मन्त्रालयबाट फुटाएर उद्योग मन्त्रालय बनाउने तयारी छ ।
दुई दलका बीचमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन अलग गर्नेबारे पनि छलफल भएको छलफलमा सहभागी नेता निकट स्रोतको भनाइ छ ।
कोशीमा सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेस आन्तरिक भागवण्डा नमिलेका कारण सरकारमा सहभागी भएको छैन ।
मन्त्रालयको संख्या थप गर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चरणमा छलफल गरिसकेका नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए ।
‘सभापति देउवा र प्रधानमन्त्री ओलीबीच दुई चरणमा छलफल भएको छ, दुई वटा मन्त्रालय थप गर्ने विषयमा छलफल नजिक–नजिक पुगेको छ’, उनले भने,‘दुई–चार दिनमा सरकारमा कांग्रेस जान्छ ।’