सभापाेखरी
सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं ५ मा पर्ने सभापोखरी धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण स्थल रहेको छ । समुद्री सतहदेखि चार हजार दुई सय ४० मिटरको उचाइमा रहेको सभापोखरीको लम्बाइ २०० मिटर र चौडाइ लगभग १०० मिटर रहेको छ ।
पृथ्वीमा दैत्यहरूको अत्याचार बढेपछि त्यसलाई रोक्नका लागि देवताहरू यही स्थानमा भेला भएर सभा गरेको हुनाले यस पोखरीको नाम सभापोखरी रहन गएको किंवदन्ती पाइन्छ । प्राचीन कालमा ८८ हजार ऋषिमुनिहरू राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास समेत रहेको छ ।
धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि अत्यन्त उपयुक्त ठाउँ सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । यस पोखरीमा नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । गर्मी महिनामा मात्र यो ठाउँमा पुग्न सकिन्छ ।
सङ्खुवासभा जिल्लाको नामकरण गर्दा आधार लिएको सभा खोलाको मुहान पनि सभापोखरी नै रहेको छ ।
गुफापोखरी
धनकुटाबाट करिब ५० किलोमिटर कालोपत्रे सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहाँबाट उत्तर देउरालीसम्मको ५ किमी कच्ची सडकको यात्रापछि करिब ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रा गरेपछि गुफापोखरी पुगिन्छ । मूलतः यहाँ विभिन्न प्रजातिका गुराँस तथा अन्य जैविक विविधता अवलोकन गर्न जानेहरू हुन्छन् । सङ्खुवासभाको नुनढाकी–९ मा गरेको गुफापोखरी समुद्री सतहबाट २ हजार ८९० मिटर उचाइमा पर्छ ।
निर्माणाधीन एभरेस्ट भ्यू टप
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आफ्नो लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको छ । गाउँ कार्यपालिकाले नीतिगत निर्णय गरेर यस्तो सुरु गरेको गाउँपालिकाका अध्यक्ष मेजर राईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अध्यक्ष राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अबदेखि पर्यटनको नयाँ गन्तव्य भनेर लिम्चुङबुङ पालिकाको हरेक पत्रहरूको शीर्षकमा उल्लेख हुनेछ ।’
भित्री मधेसको जिल्ला भएर पनि उदयपुरको यो पालिकाबाट सर्वाेच्च शिखर सगरमाथासहित आधा दर्जनभन्दा बढी हिमालय शृङ्खलाहरू देख्न सकिन्छ । सगरमाथा देख्न सकिन्छ । सगरमाथा देख्न सकिने विन्दुलाई गाउँपालिकाले ‘एभरेस्ट भ्यू टप’ भनेर प्रवर्द्धन गर्दै आएको छ ।
कोशीटप्पु
कोशीटप्पु विराटनगरबाट ५० किलोमिटर पश्चिममा पर्छ । कोशीटप्पुलाई चराको स्वर्ग पनि भनिन्छ । कोशीटप्पुमा ५२७ प्रजातिका चरा पाइन्छन् । विश्वमै दुर्लभ मानिने चराहरूको वासस्थान पनि कोशीटप्पु हो । कोशीटप्पुलाई अर्नाको राजधानी पनि भनिन्छ । कोशीटप्पुमा विश्वमै दुर्लभ मानिने बबुलिस जातको अर्ना पाइन्छ । अहिले कोशीटप्पुमा ४५० ओटा भन्दा बढी अर्ना छन् । कोशीटप्पुमा होमस्टे, रिसोर्ट र होटेलहरू छन् ।
काेशी प्रदेशमा सयौँ पर्यटकीय गन्तव्यहरू रहेका छन् । कतिपय गन्तव्यहरू चर्चामा पनि आएका छैनन् ।
काेशी प्रदेश प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर)देखि नेपालकै होचो भूभाग झापाको केचनाकवल (५८ मिटर) काेशी प्रदेशमै पर्दछ । जसका कारण याे प्रदेश भौगोलिक विविधताले युक्त छ । यससँगै हावापानी र जैविक विविधताले पनि भरिएको छ । हिमालदेखि तराईसम्म फैलिएको यस प्रदेशमा सांस्कृतिक विविधता पनि पाइन्छ । मानिसहरूको जीवनशैली, संस्कार, सामाजिक मूल्य मान्यतामा पनि व्यापक भिन्नता पाउन सकिन्छ । त्यसैले काेशी प्रदेश सबै खालका पर्यटनको सम्भावना बोकेको प्रदेश हो ।